पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार म्याग्दी, सुर्खेत, काठमाडौं र जाजरकोटमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनको मृत्यु भएको छ । ग.१ क ५७३५ नम्बरको टिपरले ध.७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका–३ बरंजाका ४६ वर्षीय थम बहादुर रोकाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै सुर्खेतमा डुबेर एक बालकको मृत्यु भएको छ । बीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्ने दल बहादुर गुरूङको छोरा ११ वर्षीय सुप्रिम गुरूङको सोही नगरपालिका–९ तिलपुरस्थित बाँधमा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै काठमाडौंमा एक जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ शनिबार राति मृत अवस्थामा फेला परेकी हुन् । यस्तै जाजरकोटमा एक पुरुषको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका–४ बरलाकुनास्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन् । घटनाका विषयमा थप अनुुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।