Shittalpati
भन्सार दिवस र यसको सार्थकता

अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । तर नेपालमा भने भन्सा छली गर्ने क्रम रोकिएको छैन । यो अत्यन्त दुःखको कुरा हो । पछिल्लो समयमा भन्सार छली गर्ने क्रम बढेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । दैनिक रुपमा सयौंको संख्यामा भन्सार छली हुँदासम्म सरकार र सम्बन्धित निकाय मौन हुने गर्दछन् । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतित हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण हो ।

सुशासन र पारदर्शीतासहितको व्यवस्थित प्रणालीको स्थापना हुन नसक्दा यहाँ जसले सके त्यसले लुट्ने अवस्था सिर्जना भएको छ । जसरी हुन्छ लुटेर अथाह सम्पति आर्जन गर्ने व्यक्तिहरू नै समाजमा पुजनीय बन्ने गरेका छन् । विकृत पुँजीवादका कारण पनि यहाँ लुट्ने प्रतिस्पर्धा चलिरहेको छ । त्यस्तो खराब कामलाई दण्डित गर्ने निकायहरू आफैं लुट्ने कार्यमा संलग्न हुन पुग्नु झनै दुर्भाग्यपूर्ण छ । नेपालमा पछिल्लो समयमा सेटिङ धन्दा यति धेरै फस्टाएको छ कि शायद सेटिङ धन्दामा नेपाल अग्रपंक्तिमै छ । यसलाई रोक्न अहिलेसम्म कुनै विशेष पहल हुन नसक्नु दुखद् हो । राजस्व बिना सरकार सञ्चालनको कल्पनासमेत गर्न सकिँदैन । त्यसैले राजस्व छल्ने विषय कसैलाई पनि मान्य हुँदैन । यो एउटा अक्षम अपराध हो । तसर्थ भन्सार छली गर्ने कार्यलाई निरुत्साहित गर्न सके  मात्र हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय भन्सार दिवसले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस कर्मकाण्डी मात्रै हुने छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update