Shittalpati
नेपाल नर्सिङ दिवसको सन्दर्भ

नेपाल नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । संगठित अभियानको झण्डै छ दशक इतिहास बनिसक्दा पनि नेपालको नर्सिङ पेसा अझै व्यवस्थित हुन सकेको छैन । नर्सलाई न्यूनतम पारिश्रमिक पाउन आन्दोलनमै होमिनुपर्ने बाध्यता छ । नर्सबिना अस्पतालको कल्पनासमेत गर्न सकिँदैन तर हजारौँ नेपाली नर्स अझै न्यूनतम सेवा सुविधाबाट वञ्चित हुनु दुखद् हो । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्स पेसाको आदर्श उँचो भए पनि अहिले विदेशिन बाध्य छन् । नेपालमा नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै नेपाल नर्सिङ संघ स्थापना भएको हो तर पनि नर्सहरु पेशाप्रति सन्तुष्ट छैनन् ।

कोरोना महामारीका बेला नर्सले आफ्नो सुरक्षाको पर्वाह नगरी सेवा प्रदान गरेको कसैले बिर्सन सक्दैन । जसका कारण नर्सहरूको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । कोभिड–१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारणले पनि नर्सिङ दिवसको महत्व अझै बढेको छ । त्यस्तो कठिन समयमा पनि आफ्नो स्वास्थ्य, घर परिवारको चिन्ता नगरी आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीको सेवा गर्नमा तत्पर थिए र अहिले पनि छन् । अर्कोतर्फ सीमित दरबन्दी र रिक्त पदमा पदपूर्ति हुन नसक्दा देशमा उत्पादित नर्सिङ जनशक्ति बेरोजगार हुनु परेको अवस्था छ । निजी अस्पताल र कलेजमा सरकारी अस्पताल कलेजसरह पारिश्रमिक तोकी कार्यान्वयन गरेमा, संवेदनशील र जोखिमयुक्त विभागमा जोखिम भत्ताको प्रावधान भएमा, बिदा र सुविधाको व्यवस्था हुन सके नर्सहरुको आर्थिक सुनिश्चितताका साथै मनोबल बढ्ने थियो । त्यसैले नर्सिङ जनशक्तिको माग आपूर्तिको तथ्यांक प्रणाली बनाउन निजी क्षेत्रमा कार्यरत नर्सिङ जनशक्तिको तोकेअनुसार पारिश्रमिक सुनिश्चित गर्न, विशिष्टीकृत विषय र विधानको विकासअनुसार दरबन्दी सिर्जना गरी कार्यान्वयनको थालनी गरे मात्र देशमा कार्यरत नर्सले आर्थिक सुरक्षाको महसुस गर्ने थिए । यसो हुँदा मात्रै विदेश पलायन रोकिन सक्छ । भविष्यमा आइपर्ने नर्सिङ जनशक्तिको संकटलाई रोक्न समयमै आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन ढिला भइसकेको छ । त्यसैले नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिङ संघका पदाधिकारीहरूले दिवसको ‘सेलिब्रेसन’ गर्ने मात्र नभई उनीहरूको हकहितका लागि दीर्घकालीन योजना बनाएर यस पेसामा संलग्न सम्पूर्ण कर्मचारीको हक सुरक्षित गर्नुका साथै भविष्य समेत सुनिश्चित गर्ने दिशामा लाग्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update