पाल्पा, जिल्लाको रामपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आगामी माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुन गैरहेको खोप अभियान अन्तर्गत शाखाले नगरपालिका स्तरीय खोप समन्वय समितिलाई अभिमुखिकरण प्रदान गरेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने एच.पि.भी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाईदैछ । रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले माघ २२ देखि २८ गतेसम्म नगर भित्रका ६० विद्यालयहरु मध्ये २९ विद्यालयका १ हजार ९ सय ४४ किशोरीलाई खोप दिइने जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत छात्राहरुलाई माघ २२ देखि २८ सम्म विद्यालय मै पुगेर खोप लगाईने र अन्य छुटेका विद्यार्थी तथा विद्यालय भन्दा बाहिर रहेका उमेर समुह भित्रका किशोरीहरुलाई स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिने छ । रामपुर नगरपालिकाका नर्सिङ अधिकृत पुनम धितालले एच.पि.भी. खोप अभियानको कार्यनीतिको बारेमा जानकारी दिदै सरकारले यसै वर्षदेखि एच.पि.भी. खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताइन् ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक चार जना महिलाको ज्यान गएको तथ्याड्ढ रहेकाले खोप अभियानमा सहयोग गर्न उनले सबैलाई आग्रह गरिन् । एच.पि.भी. खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको उनको भनाई छ । स्वास्थ्य शाखाका अनुसार रामपुर नगरपालिका वडा नम्बर १ मा ४४ जना, २ मा ८२ जना, ३ मा १५३ जना, ४ मा १११ जना, ५ मा ७२६ जना, ६ मा २१८ जना, ७ मा १४३ जना, ८ मा १४५ जना, ९ मा १०९ जना र १० नम्बर वडामा २१३ जना छात्रालाई खोप दिइनेछ । कार्यक्रम रामपुर नगरपालिका प्रमुख एवं नगर स्तरीय खोप समितिका संयोजक रमण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।