Shittalpati
तानसेनमा ५० लाख लिटरको ट्याङकी निर्माणका लागि सार्वनजिक सुनुवाइ

पाल्पा, तानसेन खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि ५० लाख लिटर क्षमताको ट्याङकी निर्माणका लागि तानसेनमा सार्वजनिक सुनुवाइ गरिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले प्रस्ताव गरेको कालिगण्डकी, सिस्ने र भुल्के खोलाको पानी अफलिफ्ट गर्ने  तथा बतासेडाँडामा भण्डारण ट्याङकी र विश्राम केन्द्र (रिफ्रेसमेन्ट सेन्टर) निर्माण गर्ने कार्यको प्रारम्भिक वातावरणीय परीक्षण (आइईई ) को लागि सोमबार तानसेनमा सरोवारवाला निकायसँग सार्वजनिक सुनुवाइ गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरुले प्रभावित क्षेत्रका नागरिकहरुलाई ध्यानमा राखेर परियोजना अगाडि बढाउन आग्रह गरेका छन् । उनीहरुले वास्तविक प्रभावित क्षेत्रहरुको पहिचान गरी त्यहाँका नागरिकहरु लाभान्वित हुने गरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा तानसेन नगरपालिका– ५ का स्थानीय विदुर घिमिरेले प्रभावित क्षेत्रका नागरिकहरुलाई लाभान्वित बनाउने कुरामा कन्जुस्याई नगर्न आग्रह गरे । उनले प्रतिवेदनमा वास्तविक प्रभावित क्षेत्र छुटेकाले उक्त क्षेत्रलाई समेटेर त्यहाँका नागरिकहरुलाई कुनै न कुनै रुपमा लाभ हुने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । घिमिरेले एकै क्षेत्रमा तीन वटा ट्याङकी बनाउँदा  वातावरणीय मौसमलाई समेत ध्यान दिनुपर्ने बताए । तानसेनका पर्यटन व्यवसायी राजीव शाहले परियोजना अगाडि सार्दै गर्दा पर्यटकीय क्षेत्रतर्फमा ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीय पूर्णबहादुर रावलले ऐन कानुनलाई हेरेर मात्र काम गर्न सुझाव दिए । तानसेन–५ का वडा अध्यक्ष रामबहादुर रावलले प्राकृतिक विपद्बाट हुने जोखिमलाई ध्यान दिन जरुरी रहेको उल्लेख गरे । सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद ठाकुर गैरेले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि ट्याङकी निर्माणको योजना अगाडि बढाएकोमा खुसी व्यक्त गरे । उनले प्रभावित क्षेत्रलाई  ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिए । परियोजना सञ्चलानका लागि आवश्यक  बजेट विनियोजनका लागि संघीय सरकारमा आफुले पनि  पहल गर्ने सांसद गैरेले बताए । लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले पछिल्लो समय तानसेनको खानेपानी समस्या समाधान हुँदै गएको र दीर्घकालीन समाधानका लागि रिजरर्व ट्याङकी निर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले पनि ट्याङकी निर्माणका लागि आवश्यक बजेट प्रदेश सरकारमार्फत विनियोजन गर्न समेत पहल गर्ने बताए । कार्यक्रममा संविधान सभा सदस्य लीला सोमै,तानसेन नगरपालिकाका नगरप्र्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की,  नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले खानपानीको दीर्घकाली समस्या समाधानका लागि भएको अभियान सकारात्मक भएकाले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।  

खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले काकाकुल अवस्थामा रहेको तानसेनलाई आफुहरु आएपछि समाधान गरेको उल्लेख गरे । उनले अहिले तानसेनमा पर्याप्त मात्रमा  पानी पुगेकाले दीर्घकालीन रुपमा पनि समस्या नहोस् भनेर ५० लाखको ट्याड्ढी  निर्माण  गर्ने योजना ल्याएको बताए । उनले आफुहरुको तीन बर्षको कार्यकाल भए पनि ३० वर्षको योजना बनाए काम गर्दै आएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले पानीका कारण कुनै पनि उपभोक्ता  पलायन हुन नपर्ने र तानसेनमै लगानीको वातावरण सिर्जना गर्न सक्ने गरी पानीको दीर्घकालीन सहज ब्यवस्था गर्न थालिएकाले सबैले सहयोग गरिदिन आग्रह गरे । कार्यक्रममा वातावरण अध्ययन टोलीका प्रमुख सुदीप पौड्यालले प्रभावित क्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार गरिएकाले कुनै त्यस्तो जोखिम नभएको बताए । उनले आमनागरिकबाट आएका सुझावहरुलाई समेत कार्यान्वयन गरिने  बताए । उनले परियोजनाका लागि ४२ करोड बजेट प्रस्ताव गरिएको समेत जानकारी गराए । सार्वजनिक सुनुवाइ कार्यक्रम समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव प्रेम मल्लको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update