Shittalpati
सहिद दिवसको औचित्य

माघ १६  आज सहिद दिवस । देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको छ । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि माघ १६ गते सहिद दिवस मनाउँदै आइएको छ । राणा शासनको अन्त्य गरेर प्रजातन्त्रको स्थापना गर्न, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको पुनःस्थापना गर्न, राजतन्त्रको निरङ्कुशताको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नका लागि सहिदहरुको योगदान र बलिदान अत्यन्त महत्वपूर्ण छ । मुलुकको स्वतन्त्रता, स्वाधीनता, लोकतन्त्र, जनअधिकार स्थापित गर्दै समृद्ध मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा नेपाली वीर सपुतहरुले आफ्नो ज्यानको उत्सर्ग गरेका छन् । आफ्नो ज्यानलाई सुलीमा चढाएर स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अविचलित यात्रामा संघर्ष गर्दागर्दै आफ्नो देह त्यागेका तिनै वीरहरुको सम्मान र सम्झनाको पवित्र दिन हो सहिद दिवस । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि बर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तीले सहिद दिवस औपचारिकतामा सीमित हुने गर्दछ । पछिल्ला वर्षहरुमा हरेक सरकार परिवर्तनसँगै सहिद घोषणा गर्ने राजनीतिक विकृतिले सहिदको सम्मानमा केही आँच आएको पक्कै हो । 

सरकारको घोषणालाई जो कोहीलाई पनि सहिद मान्नुपर्ने र राज्यको पहुँचमा नपुगेकाहरु जस्तोसुकै बलिदानी आन्दोलनमा मारिंदा पनि सहिद नमानिनु गलत हो । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई आजको दिन सबैले सम्झन्छन् । तर पछिल्लो समय सहिद दिवस केवल औपचारिकतामा सीमित हुन थालेको छ तर, यस्तो दिवसलाई केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राख्नु बिडम्बना हो । यस्ता अवसरलाई सहिदले देखाएको बाटो र दिशातर्फ इमानदारीका साथ अग्रसर हुने प्रतिबद्धता जनाउने अवसरको रूपमा लिन सक्नुपर्छ । ती महान् आत्माहरूको सपना साकार पार्न इमानदार हुने अठोट गर्न सक्नुपर्छ । यसो हुन सकेमा मात्र सहिद दिवस मनाउनुको सार्थकता र औचित्य रहन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update