पाल्पा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल विकास संस्थाले छैठौं ‘मखन सडक खाना महोत्सव–२०८१’ गर्ने भएको छ । टोल विकास संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको सहयोगमा फागुन २ गते प्रणय दिवसको अवसरमा मखनटोलमा खाना महोत्सव गर्न लागेको हो ।
‘तानसेन जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित एक दिने फुड फेष्टिवल आयोजना गर्न लागिएको संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महोत्वसमा विभिन्न जातजातिका खानाका परिकार पस्किने कार्यक्रम संयोजक तथा संस्थाकी निवर्तमान अध्यक्ष प्रमिला कार्कीले बताइन् । उनले भनिन् ‘फुड फेस्टिबलमा छिमेकी जिल्लाहरुबाट आन्तरीक पर्यटक भित्राउने लक्ष्य समेत हाम्रो छ । ’ स्थानीय खानाको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाÞय पर्यटकलाई चखाउनुको साथै तानसेनमा पर्यटकहरुलाई भित्र्याउने, महिलाहरुमा रहेको अन्तरनिहित नेतृत्व क्षमतालाई उजागर गर्ने, अन्य टोलविकास संस्थाहरुसँगको सम्बन्धलाई सुमधुर बनाउने, महिला उद्यमीहरुबाट उत्पादित कुटीर तथा घरेलु उद्योगबाट बनेका समाग्रीहरुको प्रदर्शनी तथा विक्री गर्ने संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताइन् । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचार–प्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिइएको उनले बताईन् । अध्यक्ष कार्कीले प्रणय दिवसलाई थप रौनकतापूर्णक मनाउनका लागि पनि महोत्सवमा विभिन्न जातजातिका भेषभूषाहरुको पहिचान झल्किने गायन र नृत्यहरु, स्थानीय लाखे नाँच, स्थानीय धिमे बाजा, भजन र कला केन्द्रहरुको प्रस्तुती रहनुको साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने बताइन् ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष हेमन्तराज शाक्यले तानसेनको कला संस्कृति र पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरि कार्यक्रम गर्न लागिएको बताए । उनले विगतका महोत्सव भन्दा यस वर्ष फरक हुने उल्लेद गरे । सडक खाना महोत्सवका लागि दुई लाख बजेट विनियोजन भएको छ । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले संकटबाट गुज्री रहेका तानसेनमा सञ्चालित होटलहरुलाई महोत्सवमा प्राथमिकता दिन सकेमा महोत्सवले सार्थकता प्राप्त गर्न सक्ने बताए । उनले महोत्सव सफल बनाउन पाल्पाली पत्रकारहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । महोत्सवमा विभिन्न क्षेत्रका ६० वटा स्टल रहने छन् । कार्यक्रममा सहभागी हुन कुनै पनि प्रबेश शुल्क लाग्ने छैन । महोत्सव विहान १० बजेदेखि साँझा १० बजेसम्म रहने जनाइएको छ । शित्तलपाटीदेखि हुलाकचोकसम्म स्टल रहने छन् । पत्रकार सम्मेलन कार्यक्रम संस्थाकी अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षता, सचिव कल्पना भट्टराईको सञ्चालनमा भएको थियो ।