पाल्पा, बुधबार पाल्पासहित देशैभर विविभन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।दिवसका अवसरमा पाल्पामा सहिदको तस्वीरमा माल्यार्पण सहित सरसफाइ गरिएको छ । तानसेन नगरपालिकाको आयोजनामा टुँडिखेल खेलमैदान परिसरस्थित ‘जेष्ठ नागरिक पार्क’ जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, राष्ट्र सेवक कर्मचारी, सरसफाइकर्मीहरुको सहभागितामा सरसफाइ गरिएको हो ।
सहभागीहरुले हातमा झाडु लिएर पार्कमा भएका प्लाष्टिक, पातपतिंगरहरु सरफाइ गर्नुको साथै त्यहाँ भएका रुखहरुमा पानी समेत राखेका थिए । सरसफाइमा निस्कनु अघि सहभागीहरुले सहिदको तस्वीरमा पुष्पार्पण र माल्यार्पण गरेका हुन् । सहिदहरुको तस्विरमा पुष्पार्पण गर्दै लुम्बिनी प्रदेश सांसद एंव पूूर्व मन्त्री वीरबहादुर रानाले मुलुक निर्माणमा सहिदहरुको महत्वपूर्ण योगदान रहे पनि उनीहरुले पहिल्याएको बाटोमा हिड्न नसकिएको बताए । सांसद रानाले ‘मुलुकमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा अझै परिवर्तन आउन सकेको छैन । जबसम्म जनताको अवस्थामा परिवर्तन हुन्न तबसम्म सहिदको सपना पुरा हुन्न ।’ उनले सहिदको सपना पुरा गराउने दिशामा लाग्न सबैलाई आग्रह गरे ।
सांसद रानाले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे । उनले यस प्रणालीलाई सबल र दिगो बनाउन जनताका प्रतिनिधिले सोही भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान् सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताए । उनले भने ‘व्यवस्था परिवर्तन गर्न सहिदहरुले महत्वपूर्ण भूमिका खेले अब जनताको अवस्थामा परिवर्तन गर्न राजनीतिक दलहरु लाग्न जरुरी छ ।’
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सहिदको योगदानको सम्मान गर्दै माघ १६ लाई सहिद दिवसको रुपमा मनाइएको बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विभिन्न आन्दोलनको जगमा अहिले संघीयतासहितको लोकतान्त्रिक प्रणालीमा आइपुगेको उल्लेख गर्दै लोकतन्त्रका खातिर जीवन आहुति दिने सहिदको सपनालाई साकार पार्नु सबैको साझा दायित्व भएको बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पनि जनताको अवस्थामा परिवर्तन नहुँदा सम्म सच्चा सहिदको सम्मान हुन नसक्ने बताए । उनले हरेक वर्ष सहिदका नाममा औपचारिक कार्यक्रम गरेर उनीहरुको सम्मान नहुने भन्दै सहिद परिवार र आमनागरिकको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए । नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, नगरपालिकाका सरसफाइ शाखा प्रमुख शंकर भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।