
पाल्पा, नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार छोडेर गैर कम्युनिष्टको सरकार बनाउनु ठूलो गल्ती गरेको बताएका छन् । नेकपा माओवादी केन्द्र रिब्दीकोट गाउँ समिति पाल्पाको तेस्रो अधिवेशनलाई बुधबार सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् ।
उनले ओली कम्युनिष्ट नभएको बताए । नेता पुनले भने ‘ओली कम्युनिष्ट एकता गर्न चाहनुहुन्न, ओली नै कम्युनिष्ट एकतालाई नै कमजोर बनाउने बाटोमा हिँडिरहेका छन् ।’ उप सचिव पुनले ओलीले स्वर्ग र नर्कको कुरा गरेर छक्काएर कांग्रेससँग गएको आरोप लगाए । उनले काँग्रेस र एमालेको गठबन्धन गलत बाटोमा हिँडेकाले यो कुहिएर झर्ने समेत बताए । नेकपा माओवादी केन्द्र २०८४ सम्म सरकारमा नजाने नेता पुनको भनाई छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, नेकपा माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य चक्रव्यु थापा, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की लगायतले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जनपक्षी काम गरेकोले अहिले जनलहर देखिएको बताए । कार्यक्रममा अन्य पार्टीबाट त्याग गरी माओवादी पार्टीमा प्रवेश गर्नेलाई प्रमुख अतिथि पुनले माला लगाएर स्वागत गरेका थिए । माओवादी केन्द्रका रिब्दीकोट गाउँ समितिका अध्यक्ष हरिबहादुर कुँवरको अध्यक्षता,गाउँ समिति इन्चार्ज नेपबहादुर ओली नवीनको स्वागत, सचिव नारायण लाम्टांगेको सञ्चालनमा कार्यक्रम भएको थियो ।