गुल्मी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पाठेघरको मुखको खोप अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने Þयुमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियानमा सफल बनाउन सबैमा आग्रह गरेका हुन्
प्रमुख खत्रीले जिल्लामा यो अभियानलाई सफल बनाउन सबैको सहभागिता जरुरत रहेको बताए । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका उनले सरकारले यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धको खोप अभियानमा लक्षित समूह कसैलाई पनि छुटाउन नहुने उल्लेख गरे । सरकारले यो अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाउने भएको छ । लक्षित समूहमा खोप अभियान पुर्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी खोप अभियान सफल बनाउन सबै पक्ष लाग्नुपर्नेमा प्रमुख खत्रीले जोड दिए । खोप अभियानका लागि विद्यालयमा खोप केन्द्र तोकिएको छ । खोप लगाउनका लागि यहाँ स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरिएको छ । खोप अभियानलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा क्षेत्र, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सबैको सहभागिता हुनुपर्ने बताइएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी यस जिल्लाका १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका २४४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । उनका अनुसनर खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिने छ ।