Shittalpati
सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

पाल्पा, तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (विहबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ,शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो ।  ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ । नेपालका विभिन्न समुदायले फरक–फरक क्यालेण्डर मान्दै आएका छन् । सोनाम तथा ग्याल्बो ल्होसार, तमु ल्होसार लगायत ल्होसार पनि विभिन्न तिथिमा मनाउने गरिन्छ । यस वर्ष विहीबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित Þयोल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update