पाल्पा, हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !’ यो श्लोक हो स्वर्गीय कवि भूपि शेरचनको । तर आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन्, न सहिद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन् ।
आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गंगालाल, शुक्रराज, दशरथ र धर्मभक्तजस्ता त आज खोजेर कहाँ पाउनु ? विगतमा गणतान्त्रिक आन्दोलनमा सहिद भएका, अंगभंग भएका र घाइतेलाई समेत आज तिरष्कार गरिएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै बुधबार सहिद दिवस मनाइँएको छ । विगतमा जस्तै सरकारी तवरबाट विविध कार्यक्रमहरु आयोजना गरी दिवसलाई औपचारिकता दिएएको छ । हरेक वर्ष औपचारिकताका कार्यक्रमहरु गर्ने तर सहिदले देखाएको बाटो अनुसरण नगर्ने गर्दा दिवसकै उपहास भएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले मुलुक निर्माणमा सहिदहरुको महत्वपूर्ण योगदान रहे पनि उनीहरुले पहिल्याएको बाटोमा हिड्न नसकिएको बताए । सांसद रानाले ‘मुलुकमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा अझै परिवर्तन आउन सकेको छैन । जबसम्म जनताको अवस्थामा परिवर्तन हुन्न तब सम्म सहिदको सपना पुरा हुन्न ।’ उनले सहिदको सपना पुरा गराउने दिशामा लाग्न सबैलाई आग्रह गरे । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पनि जनताको अवस्थामा परिवर्तन नहुँदा सम्म सच्चा सहिदको सम्मान हुन नसक्ने बताए । उनले हरेक वर्ष सहिदका नाममा औपचारिक कार्यक्रम गरेर उनीहरुको सम्मान नहुने भन्दै सहिद परिवार र आमनागरिकको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए । सरकारले मनपरी सहिद घोषणा गर्नुले पनि सच्चा सहिदको उपेक्षा भएको उनको भनाई छ । देशमा प्रजातन्त्र ल्याउन जीवन उत्सर्ग गरेका सहिदलाई हरेक सरकारले गलत व्याख्या गरेर सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको अध्यक्ष तिमिल्सेनाले बताए ।
तिमिल्सेनाले भने जस्तै २०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका छन् । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा हुन सकेको छैन । देशमा प्रजातन्त्र ल्याउन सहिदले जीवन उत्सर्ग गरे, तर अहिले लोकतन्त्र हुँदै गण्तन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले सहिद उपमालाई गलत व्याख्या गरेर पार्टी पिच्छे सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको हो । नेपालमा अक्सर चार सहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीको नाम लिइन्छ । लखन थापा मगर पहिलो सहिदका रूपमा चिनिन्छन् । तर उनीहरुको योगदानको कदर हुन नसक्दा सहिदको अबमूल्यन भएको छ । जसरी सहिद प्रति सच्चा सुमन हुनुपर्ने हो, सहिदले देखाएको बाटोमा जानुपर्ने हो त्यो हुन नसक्नु दुःखद् हो ।