Shittalpati
आज तिलकुन्द चौथी व्रत

पाल्पा, आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ ।  हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।

आजको तिथिमा विवेक र ज्ञानका स्वामी भगवान् गणेशको जन्म भएको मानिन्छ । तिल कुन्द चौथी भगवान् गणेशप्रति समर्पण गरिएको हुन्छ । पवित्र तिल र कुन्द अर्थात् गणेशको प्रिय चमेलीको फुल, आजका दिन तिल र चमेली फुलको सुगन्ध भएका परिकारहरू भगवानलाई अर्पण गर्ने चलन हुन्छ । यस दिन व्रत बस्ने र साँझमा गणेश र चन्द्रमाको पूजा गर्ने चलन छ । घरको उत्तर पूर्व दिशाको कुनामा पूजा आसन राख्ने र नरिवलको तेलमा दियो बालेर पूजा गर्ने, आरती गर्ने र ॐ गं गणेश्वराय विघ्ननायकाय नमः।। मन्त्रलाई १ सय ८ पटक जप गर्ने चलन छ । गणेशलाई प्रिय वस्तुका रूपमा तिलको मिठाइलाई लिइन्छ । आजका दिन गणेशलाई तिल कुट नाम गरेको तिलको लड्डु चढाउने चलन छ । दुख् कष्ट निवारण गर्दे बाधा अड्चनहरूलाई हटाउन आजको दिनको पूजाको विशेष भूमिका रहने बताइन्छ । शास्त्रमा वर्णित छ कि बाधा हटाउने भगवान् श्री गणेशको नियमित पूजा गर्ने सबैको दुःखको अन्त्य हुन्छ । मंगलमूर्ति र पहिलो पूजा गरिने भगवान् श्री गणेशलाई ‘संकथरण’ पनि भनिन्छ । तिलकुन्द चौथी को दिन व्रत बसेर भगवान् श्री गणेशको पूजा–आराधना गर्नाले सुख–समृद्धि, ऐश्वर्य–वैभव र आन्तरिक शान्ति प्राप्त हुन्छ । यति मात्र होइन, व्यापारमा सदैव समृद्धि र घरमा सुख समृद्धि रहन्छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update