प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपाल जहाँ सुनमा सुगन्ध भनेझै विकासको गतिले पनि तिव्ररुप लिदै गएको देखिन्छ । अब केहि हुन्छ, जिवीकोपार्जनको लागि विदेशी भूमिको चर्को गर्मीमा पसिना बगाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने सकरात्मक आशा पलाउदै गएको छ । देशमै रोजगारीका अवसरहरु खुल्दै गएका छन् ।
देश सञ्चालक राजनीतिक नेतृत्व देश र जनताका लागि केहि सकारात्मक परिवर्तन गर्नु नै पर्ने दवाबमा परेको देखिन्छ । विकासका मुख्य सुचकहरुमा सकरात्मक परिवर्तनका संकेत प्रष्टरुपमा देखिएकै छन् । समानुपातिक विकास योजनाले देशका सुगमदेखि दुर्गम सम्मका क्षेत्रहरुलाई समेट्दै लगेको देखिन्छ । खानेपानी,विद्युतीकरण,शिक्षा,स्वास्थ्य,सडक जस्ता विकासका मूख्य पूर्वाधारहरुमा राज्यले ठूलो लगानी गरिरहेको छ । अब गफ र भाषणले होइन कामले जनताको मन जित्न सकिन्छ भन्ने सोच राजनीतिक नेतृत्वमा पनि रहेको देखिन्छ भने जनतामा खवरदारी गर्ने, विकास निर्माणका कार्यमा चासो बढ्दै गएको देखिन्छ । यति हँुदा हुँदै पनि विशेष गरेर युवामा भने आशा हैन् निराशा बढ्दै गएको देखिन्छ । विशेष गरेर शिक्षित युवा वर्गहरुमा यो दर बढ्दै गएको देखिन्छ । सक्रिय जनशक्तिको रुपमा रहेको युवा पुस्तामा भने निराशा र आलोचना बढ्दै गएको छ । देशमा बस्नुको अर्थ छैन्, यहाँ भविष्य छैन्,रोजगारीको अभाव छ, यो देश कहिलै बन्दैन्, बाउले जसरी जीवन बिताए हामी पनि त्यसरी जीवन बिताउन सकिदैन् । यस्तै यस्तै निराशा व्यक्त गर्दै दक्ष, अदक्ष र अर्धदक्ष सबै प्रकारका जनशक्ति सुनौलो भविष्यको आशमा विदेशिने दर बढ्दै गएको देखिन्छ । पछिल्लो पुस्तालाई देशमै टिकाई राख्न राज्य असफल जस्तै देखिन्छ । देशमा विकास नभएकै हो त ? देशमा बस्ने सम्भावना नभएकै हो त ? सरकार सञ्चालकहरुले केहि नगरेकै हुन् त ? किन युवामा निराशा बढ्दै छ ? किन बौद्धिक पलायन बढ्दै छ ? यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
वर्तमान अवस्था, युवा र बौद्धिक पलायन: गणतन्त्र र संघीयता कार्यान्वयनका लागि तय भएका तीन सरकार सञ्चालनका लागि राज्यले वैदेशिक ऋणको आकार बढाउँदै विकासका मुख्य पूर्वाधारहरुमा भने देखिने गरि सकारात्मक परिवर्तन गरेकै देखिन्छ । देशको सुगमदेखि दुर्गमसम्म विकासले गति लिदै गएको देखिन्छ । तर यसको विपरीत देशको ग्रामीण क्षेत्रहरु खाली हँुदै गएको पाइन्छ । बस्तीहरु खाली हुँदै गएका छन् । घरहरु जेष्ठ नागरिक आश्रम जस्तै देखिदै गएका छन् । जिउदोको जन्ती र मर्दाको मलामी पाउनै छोडिएको छ । युवा तथा श्रम शक्ति विहीन बन्दै गएका छन् । खेतीयोग्य भूमिहरु बाँझिदै गएका छन्, कृषिजन्य आयात व्यापारको अश बढ्दै गएको छ । राजनीतिकरण र राजनीतिक हस्क्षेप बढ्दै गएको देखिन्छ । राजनीतक आरोप–प्रत्यारोप र राजनीतिक अस्थिरता उस्तै देखिन्छ । रोजगारी श्रृजना हुन् सकेको देखिदैन् । सरकार बनाउने र ढाल्ने खेल चलिरहेकै देखिन्छ । ग्रामीण क्षेत्रसम्म विकास पुगेता पनि रोजगारी दिन सकेको देखिदैन् । शिक्षित जनशक्तिलाई देश भित्रै टिकाउने योजनातय गर्न सकेको देखिदैन् । प्रजातन्त्र हँुदै देश गणतन्त्रसम्म आईपुग्दासम्म पनि देशमा सुशाशन र विधिको शाशन सञ्चालन गर्न नसक्नु युवा पलायनको कारण बन्न पुगेको देखिन्छ । यी उल्लेखीत पक्षले देशले विकासको गति लिएता पनि युवामा निराशा र विदेश पलायनको दर बढ्दै गएको देखिन्छ । यसका साथै विश्वव्यापिकरण, सामाजिक सञ्जाल लगायतका पक्षहरुले युवापुस्तामा बढ्दै लगेको महत्वकाक्षा, थोरै समयमा धेरै कमाउनु पर्ने मानसिकता, प्रर्दशन प्रभाव आदि युवामा बढ्दै गएको निराशाका कारण बन्न सक्दछ । यसले युवा जनशक्तिलाई देश भित्रै टिकाई राख्न नसक्ने देखिन्छ । विभिन्न बहानामा वैदेशिक यात्राको कहालीलाग्दो दृश्य दैनिकरुपमा देखिन थालेको छ ।
नेपाल हिजो र आज ः प्रजातन्त्र प्राप्ति पछिका सरकारहरुले जनताको दैनिकी सुधारका लागि योजनाहरु तय गर्दै लगेको कुरामा दुईमत रहँदैन् । विकासका सुचकहरुमा परिवर्तन पनि देखिएका छन् । शिक्षा क्षेत्र सुधारका लागि उपयुक्त योजना तय गरेका कारण आज थोरै खर्चमा उच्च शिक्षा लिन सक्ने अवस्था सिर्जना भएको छ । अधिकाश विद्यालयहरु प्रविधीमैत्री बन्दै गएका छन् । मुठ्ठी दान, जग्गा बिक्री र सहयोगका आधारमा विद्यालय सञ्चालन गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । सरकारले विविध अनुदान र सहयोग विद्यालयहरुलाई निरन्तर उपलब्ध गराउन थालेको छ । विद्यालयका भवन आधुनिक र बालमैत्री बन्दै गएका छन्, विद्यालयमा पुस्तकालय , कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला बनेका छन् । विभिन्न छात्रवृत्तिको व्यवस्था, वातावरण र प्रविधिमैत्री कक्षा कोठा निर्माण भएका छन् । निःशुल्क शिक्षाको व्यवस्था भएको छ । आर्थिक अभावमा शिक्षा लिनबाट कोहि बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । विकासको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य क्षेत्रमा पनि सुधार देखिएको छ । देशको सुगम क्षेत्रमा मात्रै नभएर दुर्गम क्षेत्र सम्म स्वास्थ्यकर्मीको सेवा विस्तार गरेको छ । हरेक वडाहरुमा निःशुल्क प्राथमिक उपचारको लागि स्वास्थ्य चौकीको व्यवस्था गरेको छ । हरेक स्थानीय तहहरुमा अस्पताल सञ्चालनको योजना तय गरि कतिपय स्थानीय तहले सञ्चालनको तयारी गरेको देखिन्छ । स्वास्थ्य विमा, जेष्ठ नागरिक स्वास्थ्य उपचारको व्यवस्था, जटिल रोगको उपचारको व्यवस्था गरेको छ । सरकारी अस्पतालको सेवा विस्तार तथा स्रोत साधनले सम्पन्न बनाउदै लगेको देखिन्छ । विश्वका आर्थिक रुपमा सम्पन्न देशहरुले गर्न नसकेको कार्य सामाजिक सुरक्षाको क्षेत्रमा प्रजातन्त्र पछाडीका सरकारहरुले गरेको देखिन्छ । जेष्ठ नागरिक भत्ता उत्कृष्ट कार्यक्रमको रुपमा रहेको छ । मासिक रुपमा यो भत्ता उपलब्ध गराउदै आएको देखिन्छ भने समय अनुकुल यो रकमलाई बढाउदै लगेको देखिन्छ । यो कार्यक्रममा अपाङ्ग, असहाय, एकल महिला, दलित समुदायका जनतालाई पनि समावेश गरिएको छ । सञ्चार, विद्युत, खानेपानी सबै नागरिकको पहुँचमा पुग्न थालेको छ । कालीगण्डकी करिडोर, कर्णाली करीडोर जस्ता महत्वपूर्ण आयोजना सञ्चालनमा रहेका छन् ।
देशभरका सडक पराकिलो बनाईएका छन् । ठाउँ–ठाउँमा सुरुङमार्ग बनिरहेका छन् । जोखिम मुक्त र धुलो रहित बन्दै छन् सडकहरु । गरीबीका कारण शिक्षा नपाउने, भोकमरीमा पर्नु पर्ने, स्वास्थ्य उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भऐको छ । सार्वजनिक ऋणको आशमा भएको व्यापक वृद्धि बाहेक नेपालका हरेक विकास सुंचकहरुमा हिजो भन्दा आज सकरात्मक परिवर्तन आएको कुरा उल्लेखीत तथ्याकबाट प्रस्ट हुने गर्दछ । विकास नै भएन् भन्नेहरुका लागि यो गतिलो उत्तर पनि हो । केहि स्वार्थ परिपूर्तीका लागि राजनीतिक दलले नै सिर्जना गर्ने भ्रमले कहाँ केहि भएन् भन्ने निराशाले पछिल्लो युवा पुस्तालाई गाज्दै लगेको देखिन्छ भने परिमाण स्वरुप बौद्धिक पलायनको कहाली लाग्दो तथ्याकको नेपालले सामना गर्नु परेको छ ।
निष्कर्ष: चर्का भाषण र मिठा आश्वासनले, राम्रा ऐन नियम बनाएर मात्रै देश विकास र नागरिकमा सकरात्मक सन्देश सिर्जना गर्न सकिन्छ भन्ने भ्रमको अन्त्य गरौं । राजनीतिक स्वार्थ परिपूर्तीका लागि देशलाई बर्वादीको दिशामा नधकेलौ । विधिको साशनको अभ्यास गरौं । राष्ट्रहितका पक्षमा राष्ट्रिय एकता देखाउँ । पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको निराशा र बौद्धिक पलायनको कारण पहिचान गरि यसको अन्त्यको खोजी गरि देश भित्रै बस्ने र केहि गर्न सकिन्छ भन्ने भावनाको विकास गरौं ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)