Shittalpati
आज विश्व सिमसार दिवस मनाइँदै

पाल्पा, विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।

विभिन्न प्रजातीका चरा, वनस्पति, रैथाने वनस्पति, माछा, एवं घस्रने जन्तुहरु सिमसार क्षेत्रमा बस्ने गरेका छन् नेपालमा पनि विभिन्न कार्याक्रम गरी यो दिवस मनाउने गरिएको छ । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ । सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले विश्वका झण्डै ३ अर्ब जनसंख्याका लागि पुग्ने चामल उत्पादन हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै हुने यस क्षेत्रका विज्ञले बताएका छन् । यस्तै, सिमसार क्षेत्र चराका लागि बच्चा कोरल्न पनि उपयुक्त हुने अध्ययनले देखाएको छ । नेपालको करिब ६ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो । सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update