गुल्मी, नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रखरवक्ता गुरुराज घिमिरेले पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिका गुल्मीको दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता घिमिरेले पार्टी भित्र रहेर विधान विपरित बोल्ने छुट कसैलाई पनि नभएको बताएका हुन् ।
उनले पार्टीका नेताहरुप्रति लक्षित गर्दै काँग्रेसको १५ औं महाधिवेशन २०८४ मा गर्नुपर्छ भन्ने अभिव्यक्ति दिनु विधी र पार्टीको विधान विपरित भएको बताए । केही दिन यता केन्द्रका केही नेताहरुले काँग्रेसको १५ औं महाधिवेशन २०८४ मा गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै नेता घिमिरेले त्यस्ता अभिव्यक्ति पार्टीको विधान विपरित रहेको स्पष्ट पारे ।
विगतमा भएका हरेक राजनैतिक परिवर्तनमा नेपाली जनताको साथ लिएर काँग्रेस सफल भएको प्रसंग औल्याउँदै उनले काँग्रेसलाई सुधारेर अगाडि बढ्नका लागि कतिपय नेताहरुले आफ्नो दम्भ त्याग्नुपर्ने बेला आएको बताए । नेता घिमिरेले पार्टी महाधिवेशनको मिति स्वघोषणा गर्ने अधिकार उहाँलाई कसले दियो भन्ने प्रतिप्रश्न गर्ने बेला आएको उल्लेख गरे । उनले वर्तमान सरकारको आलोचना र समालोचना गर्ने क्रममा पार्टीले हालै जारी गरेको निर्देशनका विषयमा टिप्पणी गर्दै संसदीय समिति र संसदमा समेत सरकारको विरोध नगर्नु भन्ने पार्टी नेतृत्वले गरेको सर्कुलर लोकतन्त्रको मर्म र भावना विपरित भएको वताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता देवराज चालिसेले आर्थिक रुपमा सफल नभएसम्म जनताको जीवनस्तर उकास्न नसकिने भन्दै चार धाममध्येको एकधाम रुरुक्षेत्रको विकासमा सरकारले ध्यान दिनु पर्ने बेला भएको बताए । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुुवनप्रसाद श्रेष्ठले काँग्रेसको इतिहासलाई कायम राख्न सक्यो भने नयाँ पुस्तामा काँग्रेस प्रतिको आकर्षण बढ्दै जाने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस ओखलढुंगाकी पुर्वपार्टी सभापति गोमा केसी, संविधानसभा सदस्य तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य रिता शाही, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य मोती भण्डारी, नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौड्याल, क्षेत्रीय सभापति पारिश्वर ढकाल, नेपाल दलित संघका केन्द्रीय सदस्य झविन्द्र विश्वकर्मा, काँग्रेस नेताहरु विष्णु बलाल,तुलसी पाण्डे, हरि दर्लामी,भगवती भण्डारी, श्री प्रसाद भलामी लगायतले आ –आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पालिका समितिका सचिव शालिकराम ज्ञवालीले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । वडा सभापतिहरु अमुल्य श्रेष्ठ,नारायण ज्ञवाली,चोलानाथ ज्ञवाली, यमवहादुर राना,लक्ष्मी ज्ञवाली, शिद्धीनाथ श्रेष्ठ, वेदवहादुर दर्लामी र प्रदेश समितिका सदस्य नारायण श्रेष्ठ समेतले प्रतिवेदन माथि सुझाव पेश गरे ।
रुरुक्षेत्र गाउँपालिका समितिका सभापति देविन्द्र मल्लको सभापतित्व, पालिका गाउँसेवा दलका अध्यक्ष सुमन बरालको स्वागत, पालिका उपसभापति दुर्गा ज्ञवालीको धन्यवाद र अर्का उपसभापति मधु ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । बन्द सत्रले वडा ३ का लागि रिक्त रहेको सभापतिमा चोलानाथ ज्ञवाली र उपसभापतिमा यमबहादुर रानालाई सर्वसम्मत चयन गरेको छ ।