Shittalpati
सरस्वती पूजाको धार्मिक र शास्त्रीय महत्व

सरस्वती पूजा अर्थात् श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पुजा तथा आरधना गर्ने शास्त्रीय नियम रहि आएको छ । विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले बिद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ । 

पहिलो पटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा बिद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक,कान छेडेर मुन्द्रा, फूली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ । बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन आजको दिन विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपम आराधना गर्छन् । लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले ज्ञान अभिब्यक्त गर्दा सदैव साथ दिउन, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् भनि सरस्वती माताको सबैले जयजयकार गर्ने गर्दछन् । विशेषगरी, श्रीपञ्चमीको दिनलाई विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेर मनाउने परम्परा रहँदै आएको हुनाले सरस्वती माताको पूजा–अर्चना गरे विद्या र बुद्धि बढ्ने आमविश्वास रहेको छ । यो पवित्र दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या, बुद्धि र ज्ञान आउने मान्यताका कारण विद्यालयमा नपठाइएका स–साना बालबालिकाहरुलाई यसैदिनमा अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ, यसर्थ पनि सरस्वती पूजाको धार्मिक र शास्त्रीय महत्व बढ्दो छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update