पाल्पा, जिल्लाको तानसेनमा जिल्ला स्तरीय अन्तर विद्यालय रनिङ शिल्ड विज्ञान गणित हाजिरी जवाफ प्रतियोगिता भएको छ । पाल्पा आवासीय माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता भएको हो ।
विद्यालयले आफ्नो ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर प्रतियोगिता गरेको जनाएको छ । प्रतियोगितामा बेथल इङग्लिस बोर्डिङ स्कूल प्रथम, जनता मावि दोस्रो र देववाणी संस्कृततथा साधारण मावि तेस्रो भएको विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सामुदायिक र संस्थागत १५ विद्यालयका प्रतियोगीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन र ज्ञानलाई थप वृद्धि गर्न प्रतियोगिताले महत्वपूर्ण टेवा पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदालाल श्रेष्ठले बताए । विजेता प्रतियोगीहरुलाई विद्यालयले वार्षिक उत्सवको समापनका दिन यही माघ २५ गते पुरस्कार प्रदान गर्ने जनाइएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, शिक्षक क्षितिज नेपालको सञ्चालनमा भएको थियो ।