पाल्पा, विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालीयो भने रोकथाम गर्न सकिन्छ भनेर सचेत पार्नको लागि पनि दिवस मनाउन थालिएको हो । क्यान्सर रोग निवारणका लागि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले आज चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै छन् । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् २००० मा फ्रान्सको राजधानी पेरिसमा भएको बैठकपछि क्यान्सर दिवस मनाउने निर्णय भएको थियो । त्यसपछि हरेक वर्ष फेब्रुअरी ४ मा दिवस मनाउन सुरु गरिएको हो । क्यान्सर दिवस मनाउनुको मुख्य उद्देश्य क्यान्सरबारे जनचेतना जगाउनु नै हो । यसका साथै रोकथाम, उपचार र क्यान्सरबाट हुने मृत्युदर न्यून गर्ने नै हो । हाल नसर्ने रोगको प्रकोप बढेको छ । क्यान्सर, मुटु, फोक्सो, मधुमेह लगायतका रोगले धेरैलाई पिरोलिरहेको छ ।
विश्वका अधिकांश मुलुकमा ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगहरू भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । त्यसमध्ये कार्डियो भास्कुलर र क्यान्सरको प्रकोप बढिरहेको पाइन्छ । मुटुलगायत अन्य नसर्ने रोगको उपचार विधिमा व्यापक सुधार भएको छ । उपचारमा पहुँच पनि पुगेकाले यी रोगबाट हुने मृत्युको संख्यामा कमी आउन थालेको छ । तर, क्यान्सर रोगको उपचारमा अझै पहुँच पुगेको छैन । क्यान्सर लगायत अन्य नसर्ने खालका दीर्घ रोगको मुख्य कारक तत्वहरू एकै किसिमको पाइन्छ । त्यसैले यी रोगबारे व्यापक जनचेतना फैलाउनुपर्ने खाँचो छ । धेरैजसो मुलुकमा मृत्युको पहिलो नम्बरमा क्यान्सर नै हुने गरेको छ । मुख्यतः क्यान्सर हुनुको कारण खानपान र जीवनशैली रहेको छ । यसबाहेक ५ देखि १० प्रतिशत क्यान्सरका बिरामीमा वंशाणुगत समस्या पनि देखिएको छ । घरमा हजुरबुवा, आमाबुवा वा नातेदार कसैलाई क्यान्सर छ भने सन्तानलाई पनि भएको पृष्ठभूमि पाइएको चिकित्सकहरु बताउँछन् ।