जगन्नाथ पन्त
खुसी मानिस सुखी हुन्छ र सुखी मानिस खुसी रहन सक्छ । सुखी र खुसी पूर्णरुपमा पर्यायवाची नभए पनि अति नजिकको साइनो छ यि दुईका बीचमा । धन, पद, मान,पहिचान,पहुुँच शक्ति, सामथ्र्य, स्वस्थता, अपनत्व, सार्थकता सुखका स्रोत हुन सांसारिक जीवनका । सार्थकताको मूल्य अमूल्य छ । यस्ता स्रोत पर्याप्त भएमा खुसी पनि दौतरी बन्छ सुखका । तर सुखका स्रोतले भरिपूर्ण हुदैँमा मानिस खुसी नहुन पनि सक्छ । दुःखले परिवेष्टित पनि हुन सक्छ । अभाव, दवाव र भेदभावले मात्र दुःख पैदा गर्छ भन्ने होइन कि सुख उपयोग गर्न आइपर्ने बाधा, अवरोधले झन् दुःखी बनाउँछ मानिसलाई । देखावटी असल, सालिन भलादमी तर अन्तर्य दुषित, छल कपट, लवजमा अमृत, व्यवहारमा विषका घैलाले भरिएका मानिस सुखी हुन सक्दैन । आफुले गर्नु, नगर्नु विगारेको स्वीकार नगर्ने बरु त्यसो गर्न हुँदैन भनेर अरुलाई अर्ति दिएर आदर्शवान बने जस्तो गर्नु बेइमानी हो । कर्तव्य निर्वाह गर्नबाट बच्ने जुक्तिको जालझेल भिरेर र त्यहि जालोमा फसियो भने सुखका स्रोतले पूर्ण हुँदा हुँदै पनि दुःखी भइन्छ ।
समृद्ध नेपाल सुखि नेपाली भनेर सुनेको धेरै समय भैसकेको छ । चालु सोह्रौ आवधिक योजनाले पनि समृद्ध नेपाल सुखी नेपाली लक्ष्य तय गरेको छ । चाहना गर्नु र तदनुरुप कार्य गर्नुमा दातात्म्यता हुनु पर्दछ । सबै दलका नेतागणको नेपाललाई विकसित बनाउछौं भन्ने नै छ । तर आपसमा सहकार्यको अभाव छ । मै मात्र गतिलो, अरु बदमास भन्नमै समय खर्चन्छन् । सत्ता साझेदार हुँदा गतिला, पक्ष प्रतिपक्ष भयो छट्पटी र अंहकार । सुखी र खुसी बनाउन इच्छा, चाहना पस्केर मात्र हुँदैन आवश्यकता पुरा गरेर देखाउनुु पर्दछ । यहाँ तर्क गर्न सीपालु छन् तर तर्कले मात्र सम्मृद्धी आउदैन । तर्कले खान लाउन मिल्दैन । पहिले गाउँ घरमा एकघण्टा टाढा पुगेर एक गाग्री पानी भर्दा एक भारी घाँस, दाउरा जोहो गर्दा, अध्यारोमा टुँकि बालेर जातोमा मकै, गहुँ पिस्दा, ढिकीमा धान कुट्दा पनि मानिस बसेकै थिए । अहिले बिजुली वत्ती, सडक, एकघर एकधारा, कुटानी पिसानीका मिल, पावरट्रिलर पुग्दा पनि खुसी लागेन, सुखको खोजिमा सहर, सहरबाट विदेश पुगेर पनि सुख भेटाउन सकिएको छैन् । पहिले एउटाको आम्दानी परिवारका सबैको लागि उपयोगि हुन्थ्यो । छिमेकी पनि परिवार जस्ता थिए, अहिले परिवार छिमेकी जस्ता पनि रहेनन् । सुविधाका साधनको प्रतिष्पर्धा, तुलना, इष्र्या, डाहाले भतभति पोलेर झन्झन् दुखी हुदैँदैछ । पदमा, मानमा, सुविधामा पटक–पटक अवसर पाएकामा सधै टिकिरहन लालषा छ, दोर्याउने, तेहर्याउने, आजीवन आफैलाई मात्र होस् भन्ने दुःखको सवार छ । तुलनात्मक रुपमा सुविधामा रहेकालाई हेरेर उनीहरु जस्तै बन्न पाए हुन्थ्यो भन्ने चाहाना असुविधा भोगेका र अवसर नपाएकाका मनमा छ । केहिलाई सामान्य दैनिकी लागेको अवसर र सुविधा अरु धेरैलाई सपना छ । राज्यको सारा सुविधा, अवसर आफ्नै लागि मात्र हो भन्ने सोचले न उ सुखी छ, न अरुलाई सुखी बनाउन चाहान्छ । न आफु खुसी छ न अरुलाई खुसी हुने काम गर्छ । यो सबै परख गरिरहेको पुस्ता उसका लागि मात्र किन बसिदिने भनेर विदेश पलाएन भैरहेको छ । हण्डर र गोता खाइरहको छ । अदक्ष मात्रै होइन स्वदेशमा दक्ष मानिएको डाक्टर, ईञ्जीनयर, नर्सिङ जनशक्ति पनि विकसित देशमा मजदुरी गर्न उद्दत छ ।
दृष्यको, धनको, कामको मदको भन्दा अहंकारको नशा खतरनाक हुन्छ । अति न्युनतम आवश्कता पुरा नहुँदा , अतिसार रोगले ग्रसित हुँदा जति दुःख हुन्छ त्यो भन्दा बढी दुःख निम्त्याउछ अहंकारले । पौराणिक दुईवटा कथाबाट अहंकारले के गर्छ प्रष्ट हुने कोशिश गरौं । लंकाका राजा रावण ज्ञानले, बलले , युक्तिले , धनले हरेक विषयले परिपूर्ण थिए । उनी शिवजीका महान अनन्य भक्त थिए । शिव भगवानको कृपा उनमा थियो । एक दिन शिवजीले आफ्नो वाहन नन्दिलाई आदेश दिएछन् कि कसैलाई पनि भित्र प्रवेश नदिनु । अनि शिवजी र पार्वतीजी नृत्यादि कृडामा मुग्ध भएछन् । अचानक रावण कैलाश प्रवेश गर्न लाग्दा नन्दीले रोक्छन् । रावण शिवलाई भेट्ने जिद्दी गर्छन् । दुबै बीच युद्ध हुन्छ । रावणले नन्दिलाई बाँदर जस्तो उफ्रने नीच, बााँदरको जत्ति पनि बल नभएको, बुद्धिहिन भन्दै शिवको परमभक्तलाई रोक्ने भनेर अपमानजनक लवज प्रयोग गर्छन् । तब नन्दिले सराप दिन्छन् कि बाँदर भनेर हेपेको छस् बाँदर जातिबाटै तेरो लंका ध्वस्त होस, तेरो वैभवको विनास बादरबबाट होस् । तब रावण रिषाई कैलाश नै उठाएर लैजान्छु भनि शिवजीको आशन मुनिको कैलाश पर्वत मुनि दुबै हात छिराएर उप्काउन लागे छन् । दुबै हातका हत्केला छिरेपछि शिवजीले चाल पाएर आफ्नो एउटा खुट्टाको बुढी औलाको टुप्पोले हल्का दवाए छन् । लाख कोसिस गर्दा पनि रावणले कैलाश उप्काउनु त परै जाओस, आफ्नो हात निकाल्न पनि सकेन्छन् । अनि चेत खुलेछ रावणको बलको वैभवको अहंकार गरेकोमा । शिवजीसँग माफी मागेर बल्लतल्ल छुटेछन् । तर अहंकारको परिणाम नन्दिको सरापले वानर फौजको सहायतामा रामबाट मारिन पुग्छन् ।
अर्को एउटा कथा प्रसंग जोडौं । महाभारतमा वर्णित युद्धमा पाण्डवको जीत पश्चात् शिविरबाट पाण्डवहरु फिर्ता भैरहेका थिए । पाण्डवहरुमा विजयको अभिमान थियो । त्यसमा पनि अर्जुनमा अहंकार पलाएको थियो कि त्यस युद्दको विजयको नायक म हुँ । जब अर्जुन चढेको रथ कुरुक्षेत्र सीमा छोड्न लाग्यो श्रीकृष्ण जो अर्जुनको रथको सारथि थिए, अर्जुनलाई रथबाट ओर्लेर अलिपर जाऊ भनी आदेश गरे छन् । धेरै पटक भन्दा पनि नमानेर उल्टै तिमी सारथि भएर मलाई आदेश गर्ने, ओर्ल नै पर्ने भए तिमी पहिले रथबाट ओर्ल भनेर अटेर गरिरहे छन् । यो सबै सुनिरहेका युद्धिठिरले अर्जुनलाई भने छन् बासुदेवले विनाकारण तिमीलाई आदेश गरेनन् होला, भनेको मान । तब अर्जुन रथबाट ओर्लेर अलि पर गएपछि श्रीकृष्ण पनि रथबाट ओर्लेर दौड्ना साथ रथमा ठूलो विष्फोट भई नाश भए छ । अनि श्रीकृष्णले भनेछन् युद्धमा विपक्षीबाट जे जति विकीरण रथमा प्रहार भएका थिए ती सबै मैले मेरो योगबलले रोकिदिएको थिए । यो रथ विषाक्त थियो, यहाँ भन्दा पर लैजानु उचित थिएन, यदि यो स्थान पश्चात् म पहिले रथबाट ओर्लन्थे भने तिमी रथसँगै समाप्त हुन्थ्यौं । अहंकार गरेकोमा अर्जुन मरेतुल्य दुखी भएछन् । हाम्रोमा कुशल सारथीको अभाव भयो, कुशल सारथी बन्न कोहि नचाहने सवार मात्र हुने मनोदशाले ग्रस्थ छौं हामी ।
न नित्यं लभते दुःखं न नित्यं लभते सुखम् ।
सुखस्यानन्तरं दुःखं दुखस्यानन्तरं सुखम् ।।
(महाभारत अनुशासन पर्व)
न सधै दुखमात्र हुन्छ न त सुखमात्र प्राप्त हुन्छ । सुखपछि दुख र दुखपछि सुख आउने जाने भै रहन्छ । सुख दुःख मनको तृष्णामा पनि भर पर्दछ । अतृप्त तृष्णाले दुखी बनाउँछ । सन्तुष्टिले सुखी र खुसी बनाउँछ । खुसी भित्रैबाट निसृत हुनु पर्छ । प्रहसन सुनेर, हेरेर निष्कने हाँसो स्थायी खुसी होइन । हामी कति जनाले हवाईजहाज यात्रा गरेका छौं । जहाज भित्र पस्नासाथ नमस्कार भन्दै सुन्दरी युवती मुसुक्क मुस्कुराउ छन् । उनको मुस्कान हेरेर उनी खुसीले मुस्कुराइकि भन्ने सोच्नु वास्तविकता होइन । त्यो मुस्कान उनको व्यवसायिक र जहाज कम्पनीको व्यापारिक नक्कली मुस्कान हो । हामीलाई चाहिएको अन्तर्यको खुसी र सुख हो । अरुको व्यवहारमा खुसी खोज्ने होईन कि आफै रमाउन जान्नु पर्दछ । अरुले उम्मिद पूरा गरिदिलान भन्नु दुःख निम्त्याउनु हो । जीन्दगी जीउन जान्नु पर्छ, जीन्दगी कटाउन होइन् । दर्पणमा अनुहार छैन्, वैभवमा वास्तविक सुख छैन्,सुविधा मात्र छ । केवल देखिन्छ मात्र । आवश्यकताका श्रृङखला छन्, कहिले सकिदैनन् । दुनियाँमा भिडभाड छ, जति सुकै ठूलो भिडमा भए पनि व्यक्तिको गणना एउटा हो । अच्छाई र सच्चाई हामी भित्र छैन् भने दुनियाँमा खोजेर पाइँदैन । जसरी सत्य बोल्नका लागि कुनै तयारी चाँहिदैन, सत्य सधै मनबाट आउँछ । त्यसै गरी खुसी हुन ठूला–ठूला सुविधा र साधन हुनु पर्छ भन्ने छैन् । जे शेष छ हामीसँग त्यसैलाई विशेष बनाउन सक्नु पर्छ, नत्र आफै अवशेष भइन्छ । जति सुकै खरवपति भए पनि मरेर जाँदा वैभवसँगै लैजादैन । रित्यै जन्म्यो, रित्यै मर्यो, जीवन भर अनावश्यक संग्रहका लागि माथापिच्छे किन जीवित रहने भनेको जीव कल्याण, समाज र राष्ट्रप्रति सर्मपित योगदान हो । आफ्नो दर्द थाहा पाउनु जीवित हुनुको प्रमाण हो,अरुको दर्द थाहा पाउनु मनुष्य हुनुको प्रमाण हो । जीवन सार्थक बनाऊ ,दुःख भागाऊ,खुसी जगाऊ, सुखी बनौं । युवामा राष्ट्रभक्ति, स्वदेशमा रहनुको सार्थकताको मूल्यबोध कायम गराउन जरुरी छ । नैतिक शिक्षा धर्मका विषयमा मात्र होइन, कर्मका विषयमा जोडेर पाठ्यक्रम निर्माण हुनु अति आवश्यक छ । इन्टरनेट र मोवाइलले एकालकाटे बन्न लागेका युवालाई राष्ट्रनिर्माणको एकान्तमा जोड्नु परेको छ । एकान्त्को अन्त्य अर्थात् एक+ अन्त्य गरि पारिवारिक,सामाजिक र राष्ट्रका सम्पत्ति बनाउन विलम्व गरियो भने भूगोल मात्र रहने छ । हाम्रा बाजे बज्यै, बाउ आमामा रहेको खुसी अहिले हामीमा ह्रास भै सक्यो । स्वदेशमा युवा टिकाउन नसके सम्मृद्धि हुने छैन् । खुसी लुटिने छ, सुख हराउने छ, दुःखले बास गर्ने छ ।
अमन्त्रम् अक्षरनास्ति नास्तिमूल औषधम् अयोग्य पुरुषोनास्ति योजक तत्रदुर्लभम् । अर्थात् मन्त्र नबन्ने अक्षरहुदैँन, औषधि नहुने जडिबुटि हुँदैन, कुनै न कुनै काममा सीप नभएका मान्छे हुँदैन । यथा गुण, सामथ्र्य उपयोग हुनु पर्दछ । तर यि सबैलाई यथा संयोजन गर्न सक्ने व्यक्ति दुर्लभ छ । सिंह पानीमा बस्दैन, माछा जंगलमा बस्दैन । अहिले हामीकहाँ ईमान्दार वफादार दृढ ईच्छाशक्ति भएका नेतृत्वको अभाव खट्किएको छ । स्वदेशमा बसेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने विश्वास युवामा गुमेको छ । आशा, भरोषा, विश्वास सिर्जना गर्ने नेतृत्वको खाडल छ । एकअर्काको खेदो खनेर, अपमान गरेर, वितृष्णा र घृणा गरेर राष्ट्र बन्दैन । आशा र भरोषा जगाउने सवल र विश्वसनीय नेतृत्व नपाए युवा देशमा रहने छैनन्, युवा नभए देश संमृद्ध बन्ने छैन, सुख र खुसी छाउने छैन ।