पाल्पा(रामपुर), जिल्लाको रामपुरमा श्रमिकहरुका लागि सीप विकास तालिम दिन थालिएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सडक मर्मतकर्मीहरुका लागि ५० दिने तालिम दिन थालिएको हो ।
नगरपालिकाले नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत श्रमिकहरुका लागि कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास सम्बन्धी तालिम मंगलबारदेखि दिन सुरु गरेको नगरपालिकाका प्रेस संयोजक दानुु हिस्कीले जानकारी दिए । उनका वडा नं.२, ४, ६, ७ र ८ नम्बर वडाबाट छनौट भएका सडक मर्मतकर्मीहरुका लागि तालिम दिन थालिएको हो । प्राथमिकिकरणको आधारमा वडा/वडाबाट छनौट भएका सुचिकृत बेरोजगारहरुलाई तालिम दिइएको छ ।
तालिमको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले शुभारम्भ गरेका हुन् । तालिमको शुुभारम्भ गर्दै उनले मानिसको जीवनमा सीप महत्वपूर्ण हुने बताए । उनले ज्ञान र सीपलाई पैसासँग तुलना गर्न नहुने भन्दै सक्षम र दक्ष बन्नका लागि सीपको विकास आवश्यक रहेको उल्लेख गरे । आफुसँग ज्ञान सीप र दक्षता भए स्वरोजगार र आत्मनिर्भर बन्न सकिने अधिकृत पण्डितको भनाई छ । रामपुर –५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले दक्षता र सीपले मानिसलाई सफल बनाउने भन्दै आर्थिक समृद्धि पनि सीपबाटै सम्भव रहेको बताए । उनले हरेक व्यक्ति सबै विषयमा दक्ष हुन नसक्ने भन्दै सम्बन्धित विषयमा पूर्ण रुपमा दक्ष बन्न आवश्यक रहेको भन्दै तालिममा सिकाएका कुरा इमान्दारिताका साथ सिक्न आग्रह गरे ।
रामपुर नगरपालिका रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीले सडक मर्मत र जीवन उपयोगी सीप विकासका लागि तालिमको आयोजना गरिएको बताए । यसैगरी लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीका प्रबन्धक अरुण अर्यालले तालिममा सडक मर्मतसंग सम्बन्धित विभिन्न सीप सिकाईने बताउँदै निरन्तर रुपमा सहभागी भई दक्ष बन्न आग्रह गरे । तालिममा वाल लगाउने,सडक मर्मत कसरी गर्ने, सुरक्षा,उपकरणको प्रयोग लगायतका विविध विषयमा सीप सिकाईने छ । तालिमको लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युटका प्रशिक्षक जनकराज अर्यालले सहजिकरण गरेका छन् । ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षता, रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीको स्वागत र रोजगार सहायक चिरञ्जिवि सिग्देलको सञ्चालनमा तालिम शुुभारम्भ कार्यक्रम भएको थियो ।