Shittalpati
रामपुरमा कोटघर बनाइँदै

पाल्पा, जिल्लाको रामपुर नगरपालिका –१० मगरेमा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो ।

 मन्दिरको रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले शिलान्यास  गरेकी हुन् । मन्दिरको शिलान्यास गर्दै थापाले धार्मिक महत्वका सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको बताइन् । धार्मिक सम्पदाको संरक्षणले धर्मको मात्र संरक्षण नभई यसले संस्कारयुक्त समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । धर्मले अनुशासन र नैतिकता सिकाउने भएकाले सुसंस्कृत समाज निर्माणका लागि धार्मिक महत्व बोकेका क्षेत्र र सम्पदाको संरक्षण गर्न आवश्यक रहेको उनले उल्लेख गरिन् । फरक प्रसंगमा उनले वडा नं. १०को मगरे गाउँ मगरबस्ती भएकोले यसलाई विभिन्न माध्यमबाट पर्यटकीय नमूना गाउँ बनाउनु पर्नेमा जोड दिइन् । परम्परागत विकृति विसंगति हटाई सु–संस्कृत गाउँको रुपमा विकास गर्न आवश्यक रहेको उपप्रमुख थापाको भनाई छ । सडक पहुँचको हिसाबले केही कष्टकर रहेकाले यो गाउँलाई सरल र सहज रुपमा सडक पहुँचसम्म जोड्ने उनले प्रतिवद्धता समेत व्यक्त गरिन् । थापाले मगरे गाउँको आवश्यकतालाई परिपूर्ति गर्न नगरपालिकाको स्रोत र साधनले भ्याए सम्म विकासका लागि कुनै कसर बाँकी नराख्ने  पनि उल्लेख गरिन् । १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले स्थानीय स्तरमा रहेका हरेक धार्मिक सम्पदा र संस्कृतिको संरक्षण गर्नु जनप्रतिनिधको जिम्मेवारी रहेको भन्दै वडाका धार्मिक महत्व बोकेका क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लागेको बताए । उनले निर्माण पश्चात कोटघरको संरक्षण र निरन्तरताका लागि स्थानीयले सक्रियताका साथ भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गरे । वडा अध्यक्ष सारुले मगरे गाउँलाई पर्यटकीय क्षेत्र होमस्टेको रुपमा पनि विकास गर्न आवश्यक रहेको  बताए ।

मन्दिर निर्माण समितिका अध्यक्ष विष्णु बहादुर कुँवरले गाउँमा रहेको धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीयको आवश्यकतालाई परिपूर्ति गर्न माग गरे । यस्तै विनोद कुँवरले गाउँसम्म पुग्नका लागि सहज सडकको विस्तार तत्काल गर्नु पर्ने, खानेपानी, विद्यालयको संरचना पुननिर्माण गर्नु पर्ने, एकिकृत बंगुर खोर निर्माण गर्नु पर्ने लगायतका माग राखेका थिए । वडा कार्यालयको २ लाख ५० हजार, चन्दादाताको सहयोग र जनश्रमदानमा मन्दिर निर्माण गरिने छ । शिलान्यास कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष विष्णु बहादुर कुँवरको अध्यक्षता, चित्र कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update