Shittalpati
राजनीतिक तरलता

राजनैतिक तरलता अहिले व्यापक रुपमा बढ्दै गएको छ । मुलुकमा अहिले सम्मकै सबै भन्दा बढी तरल राजनीतिक अवस्था यो पटक बढेको महशुस गरिएको छ । अहिले आजै अनि भोली के हुन्छ भन्न  र आकंलन गर्न सक्ने अवस्था नै नदेखिएका कारण मुलुकको राजनैतिक अवस्था अत्यन्त्यै तरल भएको देखिन्छ । यस्तो अवस्थामा न मुलुकको आर्थिक विकास हुन सक्छ नत  स्थिर राजनैतिक चरित्र भएको सरकार टिकी राख्ने परिकल्पना नै गर्न सकिन्छ ।

जान्नेलाई छान्ने,मान्नेलाई छान्ने, विभिन्न परिदृश्यहरुले नेपाली जनताको मनमस्तिस्कलाई मथि रहेको पाईन्छ । जसका  कारण जनता निराश मात्रै होइनन्, आशावादी पनि हुन सकेका छैनन् । किन भएनन्, यो विषय आफैमा अत्यन्तै गम्भीर बन्दै गएको आभास हुन्छ । देश बनाउने नाउमा, राजनैतिक विचारहरु एकिकृत हुन सकेका छैनन् । सरकार टिकाउँने नाममा वाक स्वतन्त्रताको चीरहरण गर्ने प्रयास गर्ने सरकारको शैलीले पनि जनमानसमा निराशाका बादलहरु भरिएका हुन् । विकासका नाममा विवाद, वाद विवाद गर्नै पर्ने ठाउँका अप्राकृतिक मिलन कति दिनका लागि हो ? भन्ने जिज्ञासाले मस्तिस्कमा मथिंगल मच्चाई रहेको छ । प्रयास पनि नभएका होईनन्, यो भन्दा बढी प्रयास विगतमै गर्नुपर्ने थियो अहिले धेरै ढीला भईसक्यो, अब परिणाम नआए मुलुकको राजनैतिक तरलता अझै दिन प्रतिदिन बढ्दै जाने र एउटा यस्तो समय आउँने छ कि, जनताले नेता र पार्टी प्रतिको आफ्नो आस्था र विश्वास गुमाउन बाध्य हुने छन् । संसदमा बहुमत भएर मात्रै पुग्ने भए हिजो माओवादी र एमालेसँगै हुँदा पनि थियो त्यो केवल गणितीय पद्धती मात्र रहेछ । अब त जनताको भावनामा बहुमत हुनुपर्ने हुन्छ र नेतामा इमानदारिताको बहुमत चाहिन्छ । अन्यथा विगतका कमजोरी र वर्तमानका अहमताका दुवै लौराहरु लोकतन्त्र माथि बजारिने खतरा रही रहन्छ । दल नयाँ र पुराना जो जे भए पनि जनताका पक्षधर नभएका कारण अहिले राजनैतिक तरलता बढेको हो । यसले राजनीतिक दलहरुलाई नै हानी गर्छ भन्ने कुरा दलहरुले नै बुझ्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update