पाल्पा, पाल्पामा विपद्बाट ४ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनामा परी ११ महिनामा ४ जनाको ज्यान गएको हो । यहाँ चालु आर्थक वर्षको पुस २९ गतेसम्म विपद्का घटनाबाट ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्दद्र चन्दका अनुसार २०८०/११/७ देखि २०८१/०९/२९ गते सम्म आगलागीबाट एक जना, चट्याङबाट एक जना, डुवानबाट एक जना र हावाहुरीबाट एक जनाको ज्यान गएको हो । उक्त अवधिमा आगलागीबाट ४ जना घाइते भएका छन् ।
यस्तै चट्याङबाट एक, पहिरोबाट एक र हावाहुरीबाट एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै सोही अवधिमा विभिन्न विपद्का घटनामा परी एक सय १८ पशुचौपायको समेत ज्यान गएको छ । एसपी चन्दका अनुसार आगलागीबाट १ सय ३, पहिरोमा परी ८ र अविरल वर्षाका कारण ७ पशुचौपयाको ज्यान गएको हो । उक्त घटनामा ५ वटा पशुचौपया भने घाइते भएका छन् । यस्तै सोही अवधिमा १ सय ९ घरमा क्षति पुगेको छ भने ५७ घर जोखिममा परेका छन् । आगलागीमा परी ३९ घर जलेका छन् भने डुवानबाट ९, पहिरोमा परी १५, अविरल वर्षाका कारण २८ र हावाहुरीबाट १८ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न विपद्बाट ८३ गोठमा क्षति पुगेको छ । सबै भन्दा बढी आगलागीबाट क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जहाँ आगलागीबाट मात्रै ६९ गोठ जलेका छन् । यस्तै हावा हुरीबाट ४ वटा सरकारी कार्यालय, आगलागी, पहिरो र हावाहुरीबाट ११ सवारी साधानमा समेत क्षति पुगेको पाइन्छ । ११ महिनाको अवधिमा यस्ता विभिन्न विपद्तबाट जिल्लामा ५ करोड २६ लाख ९१ हजार ५ सय बराबरको क्षति भएको छ । जहाँ सबै भन्दा बढी लागलागीबाट भएको हो । ४ करोड ९० लाख ९३ हजार आगलागीबाट क्षति पुगेको छ । यस्तै पहिरोबाट १ लाख ७७ हजार, अविरल वर्षाका कारण ३२ लाख ९५ हजार र हावाहुरीबाट १ लाख ५० हजार बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।