Shittalpati
गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा

गुल्मी, जिल्लाको सुदुरपूर्वमा पर्ने कालीगण्डकी गाउँपालिका– ७ का रमेश विश्वकर्मा राहदानी बनाउन सदमुकाम तम्घास पुगेर घण्टौं लाईन लागे । विहान झिसमिसेमै छापचौरबाट जिप चढेर कार्यलय समयमै प्रशासन पुगेका विश्वकर्मा दिउँसो १ नबज्दै आजको टोकन सकियो भन्ने थाहा पाएपछि निराश हुँदै त्यहाँबाट फर्किए । सोही दिन उनी सदरमुकाममै बास बस्नु पर्‍यो । तम्घासस्थित जिल्ला प्रशासन कार्यालयमा भेटिएका उनले राहदानी बनाउन दुई दिनदेखि सदरमुकाममा रहेको बताए । ‘एक/दुई घण्टामै हुने कामका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,’ उनले भने । 

नागरिकता बनाउन आउँदा नै चार/पाँच हजार खर्च भइसकेको अर्का सेवाग्राही सत्यवती गाउँपालिका हसराका विष्णु भण्डारीले बताए । नागरिकताको लागि प्रशासनको गेट नजिकैको लाइनमा भेटिएका उनले गाडी भाडा, खाजाखर्च गरी चार/पाँच हजार रुपैयाँ खर्च भएको बताए । ‘समय खर्च भएको हिसाब छैन् । गाडीभाडा, खाजाखर्च मात्र पाँच हजार रुपैयाँ भइसक्यो,’ भण्डारीले भने,‘गाउँमै प्रशासन भइदिएको भए सामान्य खर्चमा काम बन्थ्यो ।’ विश्वकर्मा र भण्डारी त केही प्रतिनिधि पात्रा मात्रै हुन । कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट, छत्रकोट र गुल्मी दरवार क्षेत्रलाई पायक पर्ने गरी इलाका प्रशासन कार्यालय नहुँदा यहाँका हजारौं सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । इलाका प्रशासन त्यहाँ नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन चारदेखि सात घण्टा लगाएर ८० किलोमिटर टाढा सदरमुकाम तम्घास धाउनुपर्ने बाध्यता छ । अझ त्यहाँ पुग्दा पुग्दै टोकन सकिने र सेवा लिनका लागि अर्को दिनसम्म कुर्नै पर्ने सेवाग्राहीको गुनासो छ ।
 स्थानीय सरकारको पहल
इलाका प्रसाशन कार्यालय पायक पर्ने स्थानमा नभएका कारण दुख पाएको सेवाग्राहीको गुनासो आएपछि जिल्लाको सुदुरपूर्वमा पर्ने स्थानीयतहहरुले पहल थालेका छन् । संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि स्थानीय तहमा रहने गरी इलाका प्रशासन कार्यालय नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले बताए ।  उनले भने ‘राज्यले जनताका समस्याहरु समाधान गर्ने र सेवा दिने कार्यालय पायक पर्ने ठाउँमा हुनुपर्छ । इलाका प्रशासन कार्यालय स्थापना अनिवार्य छ भन्ने महशुस गरी हामीहरुले रुरुक्षेत्रको रिडी बजारमा राख्न उपयुक्त हुने गरी सिफारिस गरेका छौं ।’ अध्यक्ष थापाले यो काम छिट्नै हुनुपर्ने बताए । कालीगण्डकी गाउँपालिकाको जनसंख्या १५ हजार ४४ छ । जस मध्ये पुरुष ७ हजार ७४ र महिला ७ हजार ९ सय ७० रहेका छन् । 

यहाँका  नागरिकलाई तम्घास पुगेर सेवा लिदा गाह्रो भएकाले सत्यवतीको खैरेनीमा इलाका प्रशासन कार्यालय हुनुपर्छ भन्ने हाम्रो माग  रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । उनले सम्बन्धित निकायमा पुगेर इलाका प्रशासन स्थापनाका लागि प्रयास गरिरहेको बताए । यहाँ २३ हजार ८ सय ७ जनसंख्या रहेको छ । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पनि वडा  नं.१ को रिडी बजारस्थित पिएससी भएको भवनमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरेर माग गरिएको बताए । भूगोल, सेवा सुविधा र जनघनत्वका हिसावले यो अत्यान्तै महत्वपूूर्ण कार्य हुने उनले उल्लेख गरे । ज्ञवाली भन्छन् ‘ इलाका प्रशासन स्थापनाको विषयलाई जिल्ला सुरक्षा समिति र सबै मिलेर अगाडि बढाउनु पर्ने अवस्था छ । किन कि भवन लगायतका संरचनाहरु सबै यही बनेका छन् । त्यो खर्च लाग्दैन् ।’ रुरुक्षेत्रमा २३ हजार १ सय ५५ बसोवास गर्छन् । चन्द्रकोट गाउँपालिकाले भने मजुवामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने बताएको छ । मजुवामा इलाका प्रशासन कार्यालय स्थापनाको कुनै पनि विकल्प नरहेको अध्यक्ष युवराज केसीले बताए । उनले इलाकाप्रशासन कार्यालय चन्द्रकोट,सत्यवती,कालीगण्डकीलाई पायक पर्ने गरी स्थापना हुनुपर्नेमा जोड दिए । चन्द्रकोटमा १८ हजार ६ सय ६२ जनसंख्या रहेको छ । 

यसै गरि छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, गुल्मी दरवार गाउँपालिकाका अध्यक्ष सरोज थापाले पनि  पायक पर्ने स्थान सहमति गरेर इलाका प्रशासन कार्यालय स्थापनाको पहल आवश्यक भएको बताए । इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्बन्धित निकायसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले भने सुदुरपुर्व गुल्मीको पायक पर्ने स्थानमा इलाका प्रशासन आवश्यक रहेको स्वीकार गर्छन् । उनले सुदुरपुर्वको दुरदरारबाट सदरमुकाम आउँने हजारौ सेवाग्राहीले दैनिक जसो सास्ती खेप्नु परेका कारण सेवा प्रवाहमा समेत असहज महशुस भएको भन्दै त्यसका लागि आफुले आवश्यक पहल गर्ने बताए । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update