Shittalpati
सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी

नयाँ विचारको प्रचार–प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम सामाजिक सञ्जाल विस्तारै निरासा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ । सूचना प्रविधिमा आएको विकासलाई सही तवरले सदुपयोग नगर्दा यस्तो अवस्था आएको महसुस गरिएको छ । व्यक्ति तथा समाजलाई सूचना, ज्ञान, मनोरञ्जन प्रदान गर्नुपर्ने सामाजिक सञ्जालको दुरुपयोगले अहिले संसारलाई नै टाउको दुखाइ भएको छ । सामाजिक सञ्जालको प्रयोग गरी सताउने, तर्साउने, धम्क्याउने, मानमर्दन गर्ने प्रवृत्ति हाबी भएको छ । अझ महिला र किशोरकिशोरीलाई भ्रममा पारी निजात्मक विवरण, तस्बिर वा भिडियो संकलन वा आफैं रचना गरी नगद फिरौती माग्ने तथा यौन शोषण गर्नेको प्रवृत्तिले कतिलाई प्रताडित गरेको छ, कतिको जीवन बर्बाद बनाएको छ । यस्तै, कसैको सामाजिक सञ्जाल खाता ‘ह्याकिङ’ गर्ने, डेटा चोरी गर्ने, आपत्तिजनक सामग्री पोस्ट गरिदिने वा पैसा चोरी गर्ने प्रवृत्ति पनि अहिले मौलाएको छ । यस्तो प्रवृत्तिलाई  रोक्न भन्दै सरकारले विधेयक संसदमा प्रवेश गराएको छ । विधेयक संसदमा दर्ता हुन साथ त्यसको धेरैतिर चासो र विमर्श हुन थालेको छ । 

विधेयकमा निर्धारित सर्त पालना नगरे फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जाल प्लाटफर्मलाई १ करोड रुपैयाँसम्म जरिवाना र प्रयोगकर्तालाई १५ लाख रुपैयाँ जरिवाना तथा ५ वर्षसम्म कैद हुने प्रावधान राखिएको छ । यिनै प्रावधानलाई हेरेर धेरैतिर चासो र विमर्श भएको हो । खास गरी नेपालमा सामाजिक सञ्जालको दुरुपयोग गरी छाडापन मौलाउन थालेको प्रति सबैतिर चिन्ता बढेको छ । सामाजिक सञ्जाललाई सही सदुपयोग नगर्दा छाडापन मात्र बढेको छैन, दुष्प्रचार र मिथ्या सूचनाको साम्राज्य पनि फैलिएको छ । नागरिकले सही सूचना पाउन अझै समस्या थपिँदै गएको छ । कतिपयले आरोप लगाए जस्तो जनताको सूचनाको हकलाई कुण्ठित हुन नदिनतर्फ गम्भीर भने हुनैपर्छ । सूचनाको हकलाई कसरी प्रत्याभूत गर्न सकिन्छ भन्ने विषयलाई ध्यान दिएर कानुन बन्नु पर्छ । यसमा दुई मत छैन । संसंदमा विधेयक दर्ता हुँदैमा कानुन बनिहाल्ने पनि हैन । यसमा सरोकारवाला निकायसँग छलफल गरी  विधायिकी प्रक्रिया पूरा गरेर मात्र कानुन बन्छ । यसर्थ अहिले सामाजिक सञ्जालको जसरी दुरुपयोग भएको छ त्यसको नियन्त्रण भने गर्न जरुरी छ ।  

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update