पाल्पा, मुना मेमोरियल ट्रष्ट रामपुरले विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत रामपुरस्थित जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सावित्री गैरेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालयबाट यस वर्षको एसइइ परीक्षामा उत्कृष्ट जिपिए सहित उत्तिर्ण हुन सफल गैरेलाई छात्रवृत्ति स्वरुप ७ हजार ५ सय प्रदान गरिएको छ । ट्रष्टले आफ्नो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष यहाँ अध्ययरत उत्कृष्ट अंक ल्याउने छात्रालाई छात्रवृत्ति वितरण गर्दै आएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि १३ औँ वार्षिक उत्सवको अवसरमा बुधवार एक कार्यक्रम गरि छात्रवृत्ति गरिएको हो । छात्रवृत्ति वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले मुना मेमोरियल ट्रष्टले समाज र शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रसंशनीय रहेको बताईन् । रामपुर नगरपालिका –१० का वडा सदस्य पिताम्बर ओस्तीले ट्रष्टले सञ्चालन गर्ने कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढ्नु पर्ने बताए । विद्यालयका प्रधानाध्यापक आनन्द भण्डारीले मानवसेवाका लागि सबैमा सेवा भाव हुन जरुरी रहेको बताए । महिला नेतृ दुर्गा देवि भण्डारीले छात्रवृत्ति पाउने विद्यर्थीलाई शुभकामना दिंदै उच्च मनोबलका साथ अध्ययन गरेर ट्रष्टले गरेको सम्मानको गरिमा बढाउन आग्रह गरिन् । कार्यक्रममा सिर्जना आमा समूहका पूर्व अध्यक्ष धन कुमारी चापागाई,समाजसेवी टुंगराज पौडेल,पार्वती न्यौपाने, नोलराज भण्डारीले बोल्दै ट्रष्टले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेर प्रेरणा सहित हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यार्थी सावित्री गैरेले ट्रष्टले प्रदान गरेको छात्रवृत्तिले आगामी शैक्षिक यात्राका लागि थप प्रोत्सहान र हौसला मिलेको भन्दै यसले अध्ययनमा सहजताका लागि सघाउ पुर्याउने बताइन् । कार्यक्रममा मुना ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीले समाजसेवाका लागि सबै अग्रसर भएर लाग्नु पर्ने भन्दै आगामी दिनमा विभिन्न कार्यक्रमका साथ अगाडि बढ्ने बताए । अधिकारीको अध्यक्षता, सचिव उपेन्द्र अधिकारीको सञ्चलनमा कार्यक्रम भएको थियो ।