Shittalpati
पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन

पाल्पा, पाल्पा आवासी माध्यमिक विद्यालयका विद्यार्थीहरु तानसेनको भूूसालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर  विद्यालयमा गठीत बालक्लवमा आवद्ध विद्यार्थीहरु  त्यहाँ पुगेका हुन् ।

उनीहरुले आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस मनाए । शिक्षक, शिक्षिकासँगै आश्रममा पुगेका विद्यार्थीहरुले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साटासाट गर्नुको साथै एक छाक भोजन समेत गराएका छन् । वृद्धवृद्धाहरुसँग बसेर माया साट्ने र उनीहरुलाई एक छाक भए पनि भोजन गराउन्छौं भनेर क्लवमा आवद्ध विद्यार्थीहरु आश्रममा पुगेको विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले बताए । उनले भने ‘ अध्ययनसँगै समाजसेवामा पनि समर्पित  गराउनुपर्छ भनेर विद्यालयमा क्लव गठन गरेका छौं, उनीहरु आफै स्वतस्फूूर्त रुपमा सामाजिक र रचनात्मक काम गर्न उत्साहित छन्, त्यही भएर  पनि उनीहरु आश्रममा भएका वृद्धवृद्धाहरुप्रति प्रेमभाव जागेर त्यहाँ पुगेका हुन् ।’ विद्यार्थीहरुले आश्रममा पुगेर एक छाक भए पनि भोजन गराएको देख्दा  खुुसी लागेको प्रिन्सिपल पि.सी.ले उल्लेख गरे । आश्रममा रहेका वृद्धवृद्धाहरुले आफ्नै छोराछोरी र नातीनातिनाले खाना खुवाए जस्तै भएको भन्दै उत्साहित भएका थिए ।  

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update