नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एच.पी.भी. खोप अभियान सञ्चालन गरिएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियानमा १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिइदै छ ।
‘ह्युमन प्यापिलोमा भाइरस’ अर्थात् ‘एच.पी.भी.’ विरुद्धको यो खोप अति नै उपयोगी रहेको स्वास्थ्य मन्त्रालयले भन्दै आएको छ । यो खोप नेपालमा गतवर्ष १० हजार किशोरीलाई पाइलटिङका रुपमा लगाइसकिएको छ । त्यसैले पनि यो उपयोगी रहेको मान्न सकिन्छ । नेपालमा धेरै महिला पाठेघरको क्यान्सरबाट पीडित छन् । यसको उपचार सहज छैन । ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ । कतिपय महिलाले यही क्यान्सरकै कारण ज्यान गुमाउनु परेको छ । नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ भन्ने तथ्याङ्क छ तर यसलाई रोक्नको लागि किशोरी अवस्थामै यो रोगविरुद्धको एच.पी.भी खोप लगाएमा उक्त रोग लाग्नबाट बच्न सकिन्छ भन्ने उद्देश्यले खोप अभियान सरकारले ल्याएको हो । यसलाई सकारात्मक रुपमा लिन आवश्यक छ । अब विगतमा जस्तो कैयौँ आमाले झैँ पाठेघरको क्यान्सरबाट ज्यान गुमाउनुपर्ने छैन ।
किशोरी अवस्थामै दिइने ‘एच.पी.भी’ खोपले महिलालाई जीवनभर पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सक्छ । रोग लाग्नुभन्दा अगावै खोप लिई रोग लाग्नबाट बच्नु राम्रो हुन्छ । यसरी नै नागरिकलाई स्वस्थ बनाउन सरकारले जनस्वास्थ्यप्रति देखाएको चासो प्रशंसनिय छ । यो अभियानको सबैले सदुपयोग गर्न आवश्यक छ । स्वास्थ्य स्वस्थ रहे मात्र धन सम्पति आर्जन गर्न सकिन्छ । तर स्वास्थ्य नै अस्वस्थ भए केही गर्न सकिदैन । भौतिक आर्जन धन त होला तर सबैभन्दा ठूलो धन चाहिँ मानिसका निम्ति उसको स्वास्थ्य हो । स्वस्थ मानिसले नै शारीरिक र मानसिक रूपमा चिताएको काम गर्न सक्छ । रोगी मानिसले हरेक क्षण रोगसँग लड्नु पर्छ । अनेक औषधीमुलो गर्नु पर्छ । तसर्थ सरकारले अगाडि सारेको एच.पी.भी. खोप अभियानमा लक्षित समूहका किशोरीहरुलाई सहभागी गरौं, रोग लाग्नबाट बचाऔं । यसो गर्न सकियो भने मात्र खोप अभियान सफल बनाउन सकिन्छ ।