Shittalpati
पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’

पाल्पा, जिल्लाको तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी र गुणस्तरी शिक्षाको मान्यता राखी २०३६ सालमा स्थापना भएको विद्यालयले ४५ औं वार्षिक उत्सव मनाउँदै स्वर्ण जयन्तीतिरको यात्रा तय गरेको हो ।

विद्यालयले ४५ वर्षको यात्रामा आफुलाई जिल्लाकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा निजी स्कूल भोलि जिल्लामै प्रतिष्ठित र उत्कृष्ट शिक्षा दिने विद्यालय रूपमा खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै पाल्पा आवासीयले आफ्नो ४५ वर्षे यात्रा सम्झ्दै शुक्रबार बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयतहदेखि कक्षा ११/१२ को शैक्षिक विकासमा यस विद्यालयको ठूलो योगदान रहेको छ । चार दशक लामो यात्रामा विद्यालयले राष्ट्रियस्तरका पुरस्कारहरु समेत हात पार्न सफल भएको छ । उसले विद्यार्थीहरुलाई किताबी ज्ञानमामात्र सिमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाएको छ । प्रयोगात्मक शिक्षालाई अंगाल्दै अगाडि बढेको विद्यालयले जिल्लादेखि राष्ट्रियस्तरका विभिन्न खेलकूदमा विद्यार्थीहरुलाई सहभागी बनाएको छ । एसईईदेखि कक्षा ११/१२ को परीक्षामा समेत विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । निजीस्तरका स्कूलहरु सञ्चालनमा थु्रपै चुनौति भए पनि पाल्पा आवासीयले ४५ वर्ष मनाउनुलाई कम आकलन गर्न सकिदैन । ४५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका शैक्षिक,सामाजिक व्यक्तित्वहरुदेखि पत्रकारहरुले समेत विद्यालयको ४५ वर्षे यात्राको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय एकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले  निजी तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले ४५ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । प्याब्सनका केन्द्रीय सदस्य तथा प्याब्सन पाल्पाका पूर्व अध्यक्ष भरत न्यौपानेले निजी विद्यालयहरुले शैक्षिक गुणस्तर दिन सफल भए पनि सरकारले उनीहरुप्रति हेर्ने दृष्टिकोण सौताको जस्तो रहेको आरोप लगाए । उनले सरकारी र निजी विद्यालयलाई सरकारले गर्ने व्यवहार फरक भएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्थले निजी क्षेत्रका विद्यालयहरुले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि सरकारले त्यसको मूल्याड्ढन गर्न नसकेको बताए । तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले विद्यालयको शैक्षिक र भौतिक क्षेत्रको विकासमा नगर र वडा तहबाट गर्नुपर्ने काममा सधै सहयोग रहने बताए ।

शिक्षाविद् बुद्धिप्रसाद शर्माले विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रममा विद्यालय सञ्चालक समितिको तर्फबाट सदस्य हुम प्रसाद श्रेष्ठ, निजी विद्यालयहरुकोतर्फ  पाल्पा प्यारागन बोर्डिङ्ख स्कूूलका प्रिन्सिपल  गंगा बहादुर खत्री, नेपाल पत्रकार महासंघका जिल्ला सचिव रामचन्द्र रायमाझी, अभिभावकहरुकोतर्फबाट पत्रकार यज्ञमूर्ति तिमिल्सीना, ब्राहमण समाज पाल्पाका अध्यक्ष धर्मचन्द्र नेपाल, विद्यार्थीहरु दिपा पाण्डे, बेलिसा तिमिल्सीना लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष केदारलाल श्रेष्ठले आगामी दिनमा अब्बल जनशक्ति उत्पादन गर्ने दिशामा आफुहरु लागेको बताए । सबैको सहयोग र साथका कारण नै विद्यालय जिल्लाको अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित हुन सफल भएको भन्दै उनले सबैलाई धन्यवाद दिए । विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले विद्यालयको भावी योजना प्रस्तुत गर्दै विद्यालयलाई आगामी दिनमा थप गुणस्तरीय, प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले एक विद्यार्थी एक कम्प्युटरको व्यवस्था गर्ने, इमेल, इन्टरनेट सहितको सुुविधा सम्पन्न पुस्तकालयको व्यवस्था गर्ने, कम्प्युटर तथा होटल म्यानेजमेन्ट  प्रयोगशालाहरुलाई आधुनिक र सुविधा सम्पन्न बनाउने उल्लेख गरे । सोही अवसरमा विद्यालयले  वार्षिक उत्सवमा आयोजना गरिएका विभिन्न विधाका कार्यक्रममा सफल हुने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई सम्मान समेत गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षता, सहायक प्रसाशक भवानी शर्माको स्वागत, शिक्षक क्षितिज नेपाल र शिक्षिका सुस्मा श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update