![आज भीमा एकादशी व्रत](https://www.shittalpati.com/uploads/posts/bhima-akadashi-1738996984.jpg)
पाल्पा, आज भीमा एकादशी व्रत । महाभारत कालबाट रहन गएको भीमा एकादशीको नाम पछाडीको कारण महाभारत कालदेखि भीमता एकादशीको महत्व विलक्षण रूपमा लिएको पाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ ।
यस वर्ष भीमा एकादशी शनिबार र द्वादशी आइतबार परेको छ । द्वादशीको दिन तानसेनको शितलपाटी भीमसेनको रथयात्रा हुने गर्दछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ । यसको सम्बन्ध महाभारतका पात्र पाण्डु कुन्ती पुत्र तथा पाँच पाण्डवका माहिला सदस्य भीमसेनसँग रहेको छ । गरुड पुराण अनुसार एकपटक आफ्ना पितृहरुको ऋणबाट मुक्त हुन भीमलाई एकादशीका दिन व्रत बस्नु पर्ने भयो । उनी व्रत बस्लान भन्ने कसैलाई पनि लागेको थिएन । किनकी भीम अत्यन्त खञ्चुवा मोटा र बलबान थिए र उनी जहिले पनि खाईरहन्थे । तर भीमले यो एकदशीका दिन केही नखाई अत्यन्त त्याग र समर्पणका साथ एकादशीको व्रत लिए । त्यसैले नै यो एकादशीको नाम भीमा एकादशी रहन गएको भनिन्छ । यस दिन जो कोही व्रत बस्छन् । उनको सबै पाप नष्ट हुनुका साथै समृद्धि प्राप्त हुने तथा भोग र मोक्ष प्राप्त हुन्छ भन्ने पुराणमा उल्लेख गरिएको छ । यसदिन विशेष गरी भगवान श्री विष्णुको आराधना गरिन्छ र रातभरी जाग्राम बस्छन् । विभिन्न कालखण्डमा काठमाडौं उपत्यकाबाट विभिन्न प्रयोजनका लागि नेवारहरु तानसेनमा आएर बसोबास गरेपछि उनीहरुले यहाँ पनि आफ्ना इष्ट देवता भीमसेनको मन्दिर बनाई गुठी पूजा आदि गर्ने परम्परा बसालेको हो भनिन्छ । भीमसेनको पूजा अर्चना विशेष गरी नेवार समाजमा बढी चलेको देखिन्छ । त्यसैले देशका विभिन्न ठाउँहरुमा जहाँ जहाँ नेवारहरुको बस्ती छ त्यहाँ भीमसेन मन्दिर स्थापना गरिएकोे पाइन्छ ।
भीमसेनलाई कसैले कूलदेवता मानेका हुन् भन्ने भनाइ पनि कता कता उल्लेख भएको पाइन्छ । कतै भीमसेन अत्यन्त बलवान भएकाले आफनो सम्पति र व्यापारको सुरक्षाको लागि नेवारहरुले उनको पूजा उपासना गरेका हुन् भन्ने धारणा पनि छ । जे सुकै भए पनि भीमसेनलाई व्यापार व्यबसायको भगवानको रुपमा मानिदै आइएको छ ।