Shittalpati
नरायणकाजी श्रेष्ठको आरोप –‘सरकार भ्रष्टचारीलाई बचाउदै सत्ता जोगाउन लागेको छ’

पाल्पा, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टचारको जगमा उभिएर निर्माण भएको आरोप लगाएका छन् । तानसेनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै भ्रष्टचारको जगमा उभिएर निर्माण भएको सरकार नजिकका भ्रष्टाचारीलाई बचाउदै सत्ता जोगाउन लागिरहेको आरोप लगाएका हुन् ।

भ्रष्टचारका काण्डहरु बढ्दै गएको, सुशासन खलबलिएको, कानुन र बिधीको शासनको उलङ्घन भएकाले प्रतिपक्षको हिसावले माओवादी केन्द्रले सदन र सडकबाट खबरदारी गर्दै आएको उनले बताए  । उपाध्यक्ष श्रेष्ठले आफु गृहमन्त्री हुँदा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको उल्लेख गरे । उनले भने ‘आफु गृहमन्त्री रहँदा जो जो जे जे घटनामा संलग्न छन् उनीहरुलाई तथ्यको आधारमा जुनसुकै पद तथा ओहोदामा बसेका, जति सुकै धनी, जुनसुकै पार्टीका व्यक्तिहरुमा पनि प्रहरीलाई अनुसन्धान तथा पक्राउ गर्न स्प्रष्ट अधिकार, निर्देशन तथा अख्तियारी दिएको थियो , सोही अनुसार सरकार र प्रहरीले  इतिहासमा कहिल्यै पनि नभएका, जनताले कल्पना पनि नगरेका ठूला–ठूला भ्रष्टचारका काण्डहरु बाहिर ल्यायो । नक्कली भुटानी श्रणार्थी काण्डमा पनि हामी वर्तमान सत्ताका उच्च पदका व्यक्तिहरुको  अनुसन्धान गर्दा गर्दैै माओवादी सरकार ढल्न पुग्यो र अनुसन्धान अधुरै रह्यो ।’

राष्ट्रिय सभाका सदस्य समेत रहेका माओवादी बरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले संसद र जनताको अपमान हुने गरी अध्यादेश ल्याएको पनि बताए । उनले जनता र राष्ट्रहित विपरित अध्यादेशमा कतिपय कुराहरु भएकाले  माओवादी लगायत प्रतिपक्षदलहरुको सहकार्यमा अध्यादेश संसदबाट पारित हुन नदिने चेतावनी दिए । माओवादी पार्टीमा रुपान्तरणको आवश्यकता भएकाले जनताले नेताहरुलाई सच्चिन दवाव दिइरहेको अवस्थामा विधि पद्धती, जनताको चाहाना र भावना अनुसार पार्टीलाई क्रान्तीकारी बनाउन आफुहरु जनताको माझमा आएको उनको भनाई छ । राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक समाजिक अधिकार प्राप्त गर्न नसकेकोे देश र जनताको समृद्धि, सामाजिक न्याय, आर्थिक रुपान्तरणको लागि माओवादी नेतृत्वको सरकारले सुशासन कायम गरी भ्रष्टचारलाई न्युनीकरण गर्न अभियान चालेकै कारण सरकार ढलेको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले दावी गरे । 

पार्टी सधै पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्वमा सञ्चालन हुने हो ?, माओवादी अध्यक्ष बन्ने योग्यता भएका कुनै नेता छैनन् र ? बरिष्ठ उपाध्यक्षको हैसियतले के आगामी महाधिवेशनमा तपाई अध्यक्षको दावेदार हो ? भनि पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्ने “हामी के मान्यता राख्छौ भने, यो पार्टी रुपान्तरण गर्ने हो की होइन, पाटी पुर्नगठन गर्ने हो की होइन, शक्तिशाली पार्टी बनाउने होकी होइन, भन्ने कुरामा मुख्य ध्यान दिन्छौ । अध्यक्षकै नेतृत्वमा पार्टी रुपान्तरण भयो भने त्यही अनुरुप जान्छौ हामीले त्यो सम्भव होस् भन्ने कामना गरेका छौ । यदि भएन भने पार्टीको विधि प्रक्रिया ढंगले जान्छौ । जहाँ सम्म मेरो कुरा हो । पाटी र जनताले जे जिम्मेवारी दिन्छन् त्यो जिम्मेवारी पुरा गर्ने छु ।’ उपाध्यक्ष श्रेष्ठ पार्टीको तानसेन नगर कमिटीको अधिवेशन सम्वोधनको लागि पाल्पा आएका हुन् । प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालको अध्यक्षता र सचिव कमल अधिकारीको सञ्चालनमा पत्रकार सम्मेलन  कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update