पाल्पा, पाल्पामा पहिलो पटक ‘अन्नपूर्ण स्पा’ सञ्चालनमा आएको छ । अन्नपूर्ण होटलका सञ्चालक तथा पर्यटन व्यवसायी लक्ष्मण बस्यालले तानसेन–३ भगवतीटोलस्थित होटलमा स्पा सञ्चालनमा ल्याएका हुन् ।
स्पाको शनिबार तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । स्पाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले तानसेनको पर्यटन विकासमा स्पाले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले ठूलो लगानीमा होटल सञ्चालन गरेका बस्यालले हिम्मतका साथ स्पा सञ्चालनमा ल्याएको भन्दै सेवालाई निरन्तरता दिन आग्रह गरे । मेयर श्रेष्ठले पछिल्लो समय मानिसको स्वास्थ्यका लागि स्पा आवश्यक रहेको उल्लेख गर्दै यसको सेवा लिन सबैलाई आग्रह गरे । होटलले पत्रकार सम्मेलन गरी स्पाको बारेमा जानकारी गराएको छ । होटल तथा स्पा सञ्चालक लक्ष्मण बस्यालले पछिल्लो समय जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएकाले उनीहरुको सेवालाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको बताए । सञ्चालक बस्यालले श्रीमान श्रमति समेतले यहाँ आएर सेवा लिन सक्ने उल्लेख गरे । उनले करिब २० लाखको लगानीमा ‘अन्नपूर्ण स्पा’ सञ्चालनमा ल्याइएको बताए । बस्यालले जिल्लाको पर्यटन विकासलाई मध्यनजर गरेर उक्त सेवा सञ्चालनमा ल्याएको उल्लेख गरे । सोल्टी होटलमा लामो समयसम्म काम गरेका अनुभवी प्रशिक्षकहरुबाट सेवा सञ्चालनमा ल्याएको उनले जानकारी गराए ।
कार्यक्रममा सोल्टी होटलका प्रतिनिधि एवं स्पा परामर्शदाता अशोक कुमार राईले स्पाको बारेमा जानकारी गराएका थिए । उनले स्पा मानव स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले यसको सेवा लिनाले मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सुधार हुने बताए । उनले भने‘ स्पाले शारीरिक स्वास्थ्यका अलावा व्यक्तिमा आनन्द र रिल्याक्सेसन पैदा गर्छ । थेरापी आफैंमा एक विज्ञान र आयुर्वेदसँग पनि सम्बन्धित भएकाले आजको भागदौड, व्यस्तता र तनावयुक्त समयमा यो विशेष उपचार विधि कहिलएको छ ।’ स्पा सेवाको लागि २ हजारदेखि ६ हजारसम्म पर्ने राईले जानकारी दिए । उनले होटलले स्थानीयहरुको लागि भने केही सहुलियत रुपमा सेवा दिन सक्ने समेत उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिं, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्यामकुमार पौडेल लगायतले पाल्पामा स्पा सेवा आवश्यक रहेकोमा त्यसको परिपूर्ति गर्न अन्नपूर्ण स्पाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । स्पा सञ्चालक बस्यालको अध्यक्षता, पत्रकार नरायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।