Shittalpati
विषादीविरुद्ध सचेतना जरुरी

पछिल्लो समय मानिसहरुले उत्पादन बढाउने नाममा तरकारी तथा फलफूलमा जथाभावी विषादी हाल्ने गरेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी/फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् । यसरी बाली उत्पादक किसानदेखि आम उपभोक्तासम्म प्रताडित बनिरहँदा पनि विषादीको मात्रा घटाउन भने सरकारी तहबाट खासै पहल भएको पाइँदैन । 


थोरै जग्गामा धेरै फलाउने र अधिकतम लाभ लिने अभिप्रायले किसानहरूले विषादीको जथाभावी प्रयोग गरिरहेकै छन् । धेरै किसान खेतीबालीमा लाग्ने रोगकीरा हटाउन कृषि प्राविधिकको होइन, बीउबिजन र कीटनाशक औषधि बेच्ने स्थानीय पसलेको भर पर्छन् । विषादीको मात्रा तथा मापदण्डबारे मात्र होइन, त्यसको नाम–कामबारे पनि राम्ररी जानकारी नभएका किसानहरूले छर्कने क्रममा सुरक्षा सावधानी पनि अपनाउँदैनन् । कतिले त नाकमुखसमेत नढाकी विषादी छर्किन्छन्, हातमा पञ्जासम्म लगाउँदैनन् । यही कारण कति किसान क्यान्सरजस्ता नसर्ने तर घातक रोगबाट पीडित बन्न पुगेका छन् । सर्वसाधारणको जीवन जोखिममा परिरहेको अवस्थामा सरकार गम्भीर हुनुपर्नेमा त्यस्तो भएको पाइँदैन । कृषि बालीमा विषादीको प्रयोग नै नगर्ने भन्ने हुँदैन । तर, नेपालमा त्यसको प्रयोग विधि र बजारमा पठाउने प्रविधि निकै कमजोर छ । विकसित देशमा पनि विषादीको प्रयोग नहुने होइन तर त्यसलाई कसरी कम असर पार्ने तुल्याउने भन्नेमा त्यहाँका किसानदेखि उपभोक्तासम्म सचेत छन् । तर नेपालमा उपभोक्तालाई व्यापक रूपमा विषादीयुक्त तरकारी चिन्ने, त्यस्तो विषादीयुक्त तरकारी कसरी विषादीरहित पार्ने जस्ता कुराको सचेतना  नहुँदा विषादीको प्रयोग बढ्दो छ । विषादीको प्रयोग कम गराउन उपभोक्तास्तरबाटै  सचेतनाका कार्यक्रमहरु ल्याउन आवश्यक छ । यसर्थ विषादीविरुद्ध  आम उपभोक्तालाई सचेतना जगाउन सकियो भने विषादीको प्रयोग कम गर्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update