
पाल्पा, नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा सिंजाली चयन भएकी छन् । माओवादीको तानसेनमा भएको तेस्रो नगर अधिवेशनले सिंजालीलाई अध्यक्षमा चयन गरेको हो ।
उनको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको माओवादी निकट प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षहरु युवराज पन्त, अमर राना, मञ्जु विक, सचिवमा नवराज बस्याल, सह–सचिव नेत्र गौतम र कोषाध्यक्ष बासुदेव अर्याल चयन भएका छन् ।
अधिवेशनको नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै उनले माओवादीलाई कमजोर पारिए समानुपातिक समावेशी व्यवस्थामाथि खतरा उत्पन्न हुने चेतावनी दिए । उनले माओवादीको योगदानकै कारण देशमा समानुपातिक समावेशी व्यवस्था स्थापित भएको भन्दै यसलाई जोगाउन पार्टीलाई सशक्त बनाउनुपर्ने बताए । नेता श्रेष्ठले भने, ‘माओवादीलाई कमजोर पारियो भने समानुपातिक समावेशी व्यवस्था खोसिन्छ । त्यसपछि तपाईंहरूको हालत के हुन्छ ?’ उनले महिला, दलित, जनजाति तथा पिछडिएको वर्गको अधिकार सुरक्षित गर्ने सवालमा माओवादीको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सीता बौडेलले नेपालमा ठूलो जनसमुदाय कम्युनिष्ट आस्थामा रहेको उल्लेख गर्दै पाल्पाले लोकतान्त्रिक परिवर्तनमा ऐतिहासिक योगदान दिएको बताइन् । अर्का केन्द्रीय सदस्य पुरन केसी, अनिल किशोर घिमिरे र नेत्र प्रसाद पाण्डेयले माओवादीलाई वृहत् शक्तिशाली बनाउन सबै नेता तथा कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड । नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सचिव यक्ष पोखरेल र जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले पछिल्लो समय माओवादीप्रति जनलहर बढेको दाबी गर्दै पार्टी पुनः सशक्त बन्दै गएको उल्लेख गरे । नगर समिति अध्यक्ष प्रतिक्षा सिंजालीको अध्यक्षता र मथुरा ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।