Shittalpati
तानसेनमा निकालियो भिमसेनको रथ, हराउँदै रौनकता
तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट नगर परिक्रममा गराउने तयारी गर्र्दै श्री ७ भीमसेनको रथ यत्रा । तस्वीर: किशोर भट्टराई/ एनजेडी

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट श्री ७ भीमसेनको रथ यत्रा दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । सोही अनुसार यस वर्ष पनि आइतबार रथ निकालिएको हो ।

भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । रथयात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घर–घरबाट भगवानलाई पूजा दिएका थिए । मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको सहभागितामा रथयात्रामा भजन मण्डलीले दाफा भजन गाएर नगर परिक्रमा गरेका थिए ।  नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । शित्तलपाटीमा रहेको भीमसेन मन्दिर विसं १८६४ मा स्थापना भएको थियो । माघ शुक्ल भीमा एकादशीको दिन तानसेनमा खासै केही गरिदैन । यस दिन राती शित्तलपाटी मन्दिर अगाडि धुनि जगाइन्छ, भजन गाइन्छ तथा उपस्थित भक्तजनहरुलाई प्रसादको रुपमा समयबजी बाँड्ने प्रचलन रहेको छ । माघ शुक्ल द्वादशीको दिन भने भीमा द्वादशी भनेर शित्तलपाटीको भीमसेनको रथयात्रा निकाल्ने परम्परा रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । नेवार समुदायले शुभ साइतमा हातमा मुगदल लिएको भगवानको पित्तलको सानो प्रतिमूर्तिलाई तीनतिर खुल्ला पितलले मोडिएको छाना भएको रथमा राखि नगर परिक्रममा गराएका थिए । रथ निकाल्दा विगतमा जस्तो रौनक भने देखिएन । पहिले पहिले भीमसेनको रथ निकाल्दा हेर्नेहरुको भीड लाग्ने गर्दथ्यो । तर पछिल्ला केही वर्ष यता भने त्यो रौनक विस्तारै हराउदै गएको स्थानीय बताउँछन् ।

आधुनिकताका कारण यो रथ यात्रासँगै पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घट्दै गएको छ । इतिहास बोकेको रथ यात्रालाई नयाँ पुस्ताले चासो नदिदा रौनकतामा केही कमी आएको भीमसेन मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष मनोहरलाल श्रेष्ठले बताए । उनले भने, ‘ जनतन हामीले निरन्तरता दिर्दै आएका छौं , अब नयाँ पुस्ताले के गर्छन् थाहा छैन् ।’ जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा जिल्लामा निकालिने गाई जात्रा, रोपाइँ जात्राको प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भए पनि यसतर्फ खासै चासो दिएको देखिदैन । जात्राहरु धार्मिक, साँस्कृतिक र मनोरञ्जनसँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई यसतर्फ आर्कषित गर्न सकिएको छैन । जसले गर्दा पनि यहाँका जात्रा, पर्वहरु विस्तारै लोप हुन लागेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update