Shittalpati
वातावरण दिवसको सार्थकता

हरेक वर्ष विश्वभर जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आजको दिन विश्वभर दिवस मनाउन लागिएको छ । विगतका वर्षमा औपचारिक कार्यक्रमको आयोजना गरेर नेपालमा पनि दिवस मनाउने गरिए पनि यस वर्ष भने विश्वभर फैलिएको कोरोना माहामारीका कारण कार्यक्रम हुने नहुने अन्यौलमा रहेको छ । मानवीय क्रियाकलापबाट भएको पृथ्वीको क्षति र यसका प्राकृतिक स्रोत र सम्पदाहरूको संरक्षणका सम्बन्धमा आम मानिसमा सचेतना वृद्धि गर्ने उद्देश्यले विश्व वातावरण दिवस मनाउने गरिन्छ । पृथ्वीमा बढ्दो जनसंख्या तर सीमित प्राकृतिक स्रोत साधन रहेका छन् । लाखौँ प्राणीमध्ये मान जाति एक हो । तर पछिल्लो समय मानव जातिले आफ्नो स्वार्थका लागि पृथ्वीको अनियन्त्रित दोहन गर्दै आएको छ ।

बढ्दो प्राकृतिक स्रोतको विनासले पृथ्वीमा पर्यावरणीय संरचना खलबलिएको साथै अनेकौँ किसिमका प्राकृतिक समस्याहरु पनि हरेक वर्ष क्रमिक रुपमा बढ्दै गएका छन् । अहिले बढ्दो जनसंख्या, सहरीकरण, औधोगीकरण, वन विनास, जमिन उपभोगमा फेरबदल जस्ता मानवीय क्रियाकलापले वायुमण्डलमा कार्वनडाइअक्साईड ग्यासको उत्सर्जन बढ्दै गएको छ । जसका कारण विभिन्न किसिमका रोगहरु उत्पन्न भएका छन् । वर्तमान कोरोना महामारी पनि यसको एक कारण हो भन्दा फरक नपर्ला । वातावरण संरक्षण कायम राख्न र वातावरणको प्राकृतिक स्वरूप क्षय गर्न मानिस स्वयं कै ठूलो भूमिका हुन्छ । मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष, जानी वा नजानीकन दिनानुदिन वातावरणको प्राकृतिक अस्तित्वलाई नष्ट गर्दै गइरहेको छ । यो मानविय जीवनमा नै हानिकारक छ ।

स्वाभाविक रूपमा मानिस चेतनशील प्राणी हो । आज विज्ञान तथा प्रविधिको क्षेत्रमा उसले अलौकिकता र चामत्कारिकता प्राप्त गर्न सफल भएको छ । तर यिनै उन्नति, प्रगति, विकास र चमत्कारताका नाउँमा प्रकृति र वातावरणको प्राकृतिक स्वरूप र वातावरणीय प्रभावलाई बेवास्ता गर्दा मानव जीवनको लागि अति नै महत्वपूर्ण पक्षको रूपमा रहेका वातावरणीय तत्वहरूको दिनानुदिन स्खलन भइरहेको छ । देशको आर्थिक उन्नती, सभ्य समाज, विकास, कृषि जस्ता महत्वपूर्ण कुराहरु वातावरण तथा पर्यावरणसँग प्रत्यक्ष सरोकार रहेका छन् । तसर्थ मानव जाति प्राकृतिक स्रोतहरुको दिगो संरणक्ष गर्दै, प्राकृतिक मैत्री बन्न सके मात्र विश्व वातावरण दिवसको अभियान र नारा सार्थक रहन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update