समय इन्टरनेटको छ । इन्टरनेटको यो युगमा धेरैले आफ्नो दिनचर्याको अभिन्न अंग कम्प्युटर, ल्यापटप, टयाबलेट, फयाबलेट र आईफोनसहित स्मार्टफोनलाई बनाएका छन् । यी वैज्ञानिक आविष्कारबिना धेरैको दैनिकी अस्तव्यस्त र सुस्त हुने अवस्था छ । मनोरञ्जनदेखि जानकारीसम्म र पठनपाठनदेखि मनभित्रका उकुसमुकुस उजागर गर्नसम्मका लागि इन्टरनेट प्रयोग गर्नेहरू धेरै छन् । अझ फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा मानिस यति अभ्यस्थ हुँदै गएका छन् कि उनीहरू सानातिना विषयहरूको जानकारी लिन वा दिनसमेत यसको प्रयोग गर्छन् । विज्ञानका आविष्कारहरू मानवलाई जति सजिलो बनाएको छ, नकारात्मक पक्ष र असरहरू पनि उत्तिकै छन् । केही मानिस त इन्टरनेटमा यसरी घोत्लिने गरेका छन् कि मानौं ऊ यसका दुव्र्यसनी हो । इन्टरनेटको अनियन्त्रित व्यापकताले चुनौतीसँगै विश्व समुदायको चिन्ता पनि बढाएको छ ।
इन्टरनेट जति मानिसको आवश्यकता बन्दै छ त्यति नै त्यसबाट नकरात्मक असर पनि देखा परेको छ । हिंशा, दुव्र्यवहार र शोषणका घटना पनि उत्तिकै बढ्दै गएका छन् । यस्ता समस्याबाट बच्न आजको इन्टरनेट युगमा सुरक्षित इन्टरनेट चलाउनु आवश्यक छ । इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो । तर इन्टरनेटको प्रयोगबाट केही नकरात्मक काम पनि नभएका भने होइन । इन्टरनेटकै माध्यमबाट धेरै अपराधिक क्रियाकलाप र बालबालिकाहरु पढाई भन्दा पनि इन्टरनेटमै व्यस्त हुन थालेका छन् । यस्तो हुनु दुःखद् हो । सूचना प्रविधिमार्फत नै नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरू भेट्ने, पुग्न नसकेका ठाउँहरूको बारेमा थाहा पाउने लगायतका अवसरहरू प्राप्त गरिएको छ । तर, उचित सूचना वा मार्गदर्शन नहुँदा इन्टरनेट जगतमा दुव्र्यवहार, शोषण तथा हिंसा जस्ता विभिन्न जोखिमहरूको पनि सामना गर्नु परेको यार्थता हो । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्नका लागि हरेक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी नेपालमा यो दिवस मनाउन लागिएको छ । तर यो दिवस औपाचारिकतामा मात्र सिमित हुन पुग्दा यसले सार्थक रुप लिन सकिरहेको छैनन् । यसर्थ प्रविधिको सकारात्मक प्रयोग सम्बन्धी जानकारी प्रकाशमा ल्याई इन्टरनेटको सुरक्षित प्रयोग गर्ने दिशामा सबैले ध्यान दिन जरुरी छ ।