![छुट्टाछुट्टै सवारी दुर्घटना : ९ जनाको मृत्यु, एक पैदलयात्रुले पनि ज्यान गुमाए](https://www.shittalpati.com/uploads/posts/durghatana-accident1686904286.jpg)
पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पैदलयात्रु पनि रहेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जा, दैलेख, ललितपुर, कञ्चनपुर,सुर्खेत, महोत्तरी, चितवन, पाँचथर लगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएका हुन् ।
स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिदार्थ राजमार्गमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा पस्न जाँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलको पछाडी बसेका विरुवा गाउँपालिका–७ घर भई हाल वालिङ–९ क्याम्पसरोड बस्दै आएका सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । घाइते सुशीलको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति मृत्यु भएको उनले बताए । प्रहरीले ट्रक चालक पर्वतको कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकार लामिछाने र मोटरसाइकल चालक वालिङ–८ का १७ वर्षीय हेमन्त रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–२ सप्तरीस्थित सडकमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । सुर्खेतबाट छिन्चुतर्फ आउँदै गरेको क.प्र.०२००२ प ७२०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बीरेन्द्रनगर नगरपालिका–११ चारकुने बस्ने ४१ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहहेको छ । यस्तै ललितपुरको बाग्मती गाउँपालिका–४ गिम्दी दोर्जेलिङ डाँडास्थित सडकमा मोटरसाइकलबाट खसेर एक जनाको ज्यान गएको छ । बा.६८ प २२०८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार काभ्रे बेथानचोक गाउँपालिका–१ सुकुम घर भएकी ३८ वर्षीया मेनुका गौतमको मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ खैरिघाटस्थित सडकमा बसको ठक्करबाट पैदलयात्री पनि ज्यान गएको छ । सु.प.प्र.०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मिन बहादुर कुँवरको छोरा २ वर्षीय सुशान्त कुँवरको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै चितवनको भरतपुर महानगरपालिका–१४ भावना चोकस्थित सडकमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा.प्र.०१–०२९ च ७५९७ नम्बरको कार र बा.प्र.०६–००१ प ५०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–१४ का २१ वर्षीय रोशन अधिकारीको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकालई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित सडकमा विङगरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । म.प्र.०३–००१ ज ०५५४ नम्बरको विङगरको ठक्करबाट साइकलयात्री बर्दिबास नगरपालिका–७ बस्ने ७० वर्षीय देबेन्द्र साह सोनारको मृत्यु भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको घनुषा लालगढस्थित मोडेल अस्पताल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । वि·र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–१४ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा.प्र ०२–०४२ प ३६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोरखा, गोरखा नगरपालिका–१२ पन्ध्रकिलो बस्ने ३० वर्षीय रबिन श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दैलेखको भगवतीमाई गाउँपालिका–१ मौले तालस्थित सडकमा पनि मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मनघरबाट दैलेखतर्फ आउँदै गरेको क.प्र.०२–००२ प २८७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक डु·श्वर गाउँपालिका लाकुरीका ४० वर्षीय तेज बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो । पाँचथरको याङबरक गाउँपालिका–२ ईण्द्रेणी ओडार छेउस्थित सडकमा ट्याक्टरमा परी एक जनाको ज्यान गएको छ । तिनतिम्बुबाट च्याङथापुतर्फ आउँदै गरेको मे.१ त ६८९४ नम्बरको ट्याक्टर अन्यन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ तिम्बुरेखर्क बस्ने २७ वर्षीय दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको हो ।