Shittalpati
विश्व रेडियो दिवसको सान्दर्भिकता

आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रूपमा सम्मान गर्न, प्रसारक बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोमा सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

दिवस ढिला गरी बनाउन सुरु गरिए पनि रेडियोको इतिहास भने लामै छ । रेडियोको आविस्कार इटालीका वैज्ञानिक जी.मार्कोनी हुन् । उनले सन् १८९५ मा रेडियो तरंग पत्ता लगाएका थिए । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यवहारिक रुपमा प्रसारण सुरु गरिएको थियो । मार्कोनीले रेडियोको आविस्कार जुनसुकै उद्देश्यका साथ गरेको भए पनि समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका महत्वपूर्ण रहेको छ । नेपालमा भने २००७ सालपछि मात्रै औपचारिक रुपमा रेडियो खुलेको इतिहास छ । तर पछिल्लो समय इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले रेडियो खुम्चिन पुगेको छ । रेडियोका कार्यक्रमहरू इन्टरनेट र मोबाइल प्रयोगकर्ताहरूप्रति लक्षित गर्न सकिएन भने थप खुम्चिदै जाने निश्चित छ । नेपालमा अहिले नै श्रोताको संख्या घट्दै गएको छ । यसले रेडियो सञ्चालनमा चुनौती थपेको छ ।  रेडियोप्रति श्रोताको चाख बढाउने काम गरिएन भने  रेडियोहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्छ  । त्यसतर्फ रेडियो सञ्चालकहरुले सोच्न आवश्यक छ । रेडियोहरुले समय सापेक्ष आफुलाई चलाउन नसक्दा यसको सान्दर्भिकता खस्केको कुरालाई नकार्न सकिदैन । अनलाइन न्युज पोर्टलहरूले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका मोबाइल स्क्रिनमा पुर्‍याउन थालेपछि रेडियोको महत्व केही कम अवश्य पनि भएको हो । यसर्थ रेडियोहरूलाई समय सापेक्ष रुपमा अगाडि ढाउन सकियो भने मात्र हरेक वर्ष मनाइने रेडियो दिवसको सान्दर्भिकता रहन्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update