
गुल्मी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्न आवश्यक रहेको औल्याए । उनले जनतामा समृद्धि नहुँदासम्म लोकतन्त्र र गणतन्त्रले सार्थकता नपाउने भन्दै अब समृद्धितर्फ पाइला चाल्नुुपर्ने बेला आएको बताए । जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने ‘एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ,। ’ हजारौं युवाहरू विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उनले देशभित्रै रोजगारी सृष्टि गरेर विदेश जान बाध्य युवाहरूलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारले योजनाबद्ध पहल थाल्नुपर्ने बताए । स्थानीय तहबाट उत्पादन वृद्धिका कार्यक्रम सुरु गर्ने गरी पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको राजनीतिक प्रतिवेदनमै स्थानीय विशेषतामा आधारित उत्पादन वृद्धिका कार्यक्रममार्फत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई जोड दिएको बताए ।