Shittalpati
हरेक दिन नै प्रेममय होस्

 प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेलाई प्रेम जोडीहरूको महत्वपूर्ण दिनको रूपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेषगरी १४ फेब्रुअरी अर्थात् आजको दिन संसारभरिकै जोडीहरूले एकअर्काबीच प्रेम साटासाट गर्छन् । उनीहरुका लागि यो दिन उत्तिकै महत्वपूर्ण मानिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो । यो दिवसलाई रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र भ्यालेण्टाइन डे भनेर प्रेम सप्ताहकै रूपमा मनाउने चलन छ । यसको प्रभाव अन्तर्राष्ट्रिय रूपमा पर्दै गर्दा नेपालमा पनि भित्रिएको धेरै वर्ष भइसक्यो । धेरैजसो युवायुवतीहरू कहिले प्रेम दिवस आउला र आफ्नो प्रेमको प्रस्ताव आफ्नो प्रेमीलाई राखूँला भन्दै यो दिनलाई कुरीराखेका हुन्छन् । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय दिवस एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन ।

प्रेम दुई विपरीत लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफ्ना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ । तर अचेल सबैमा प्रेम सहज र सस्तो भएको छ । प्रेमलाई अहिलेका युवाहरूले टाइमपास गर्ने माध्यम बनाएका छन् । मन लागेका बेला प्रेमको नाटक रच्यो नलाग्दा त्यसैलाई बलिको बोका बनाउने गर्न थालिएको छ । तर यसो हुनु गलत हो । साँचो प्रेममा त्याग हुन्छ, विश्वास हुन्छ । माया प्रेमले जीवनलाई नै रंगीन बनाउँछ, जीवनका गोरेटोहरूको पाइला चाल्न सहज बनाउँछ । एक अर्काबीचको माया प्रेमले जीवनका योजना र हरेक क्षेत्रका सफलताका लागि बाटो खुल्छ । युवा पुस्तामा बढेको गलत अभिप्रायको प्रेम लहरको परिणाम गलत हुन्छ । त्यसैले प्रेमलाई सकारात्मक रुपमा लिन आवश्यक छ । आधुनिकता र देखावटीपन बढ्दो छ, माया प्रदर्शन गर्नेहरूको होड नै चलेको छ । गर्लफ्रेन्ड र ब्याइ फ्रेन्ड बनाउने त फेसन नै चलेको छ । त्यसैले, यसलाई सही तरिकाले मनाउनुपर्छ । भद्दा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रदर्शन गरेर होइन, साथीको मन, व्यवहारबाट जित्नुपर्छ । विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ । अरूको लहलहैमा लागेर होइन, सही तरिकाले मनाउनुपर्छ । तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ । प्रेम त्यस्तो बनोस्, भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन, खुसी र सन्तुष्टि फिँजाउन पाइयोस्, जहाँ एक मनले अर्को मनको कदर गरेको होस् ।  वर्षमा एक दिन मात्र प्रेम होइन हरेक दिन  प्रेममय बनोस् । सबैमा प्रणय दिवसको शुभकामना !

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update