Shittalpati
तानसेनको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी हुँदै, तयारी पुरा

पाल्पा, ‘कृषि उत्पादनमा सहभागी बनौँ, परनिर्भरताको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ तानसेन नगरपालिका–९ तिन्टीआँपमा तेस्रो कृषि मेला  तथा प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ । फागुन ३ गते अर्थात् भोली शनिबार  मेला तथा प्रदर्शनी हुन लागेको हो ।

कृषि मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक पक्षले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मदनपोखरा संगम बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजना, तानसेन नगरपालिका–९ वडा कार्यालयको प्रवद्र्धनमा तेस्रो कृषि मेला हुन लागेको हो । मेलामा प्रतियोगात्मक कृषि बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा, प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, कृषि औजार प्रदर्शनी, विउविजन प्रदर्शनी,  पशु रोग निदान तथा गोवर परिक्षण, कृषि उद्यम अनुभव आदान–प्रदान हुने जनाइएको छ । मेलामा ३५ वटा स्थल रहने छन् ।

किसानलाई आफै विउविजन उत्पादन गर्न सक्ने बनाउनु, उनीहरुलाई व्यवसायिक र उद्यमी बनाउँदै गाडी चढ्ने स्तरसम्म पुर्‍याउनुको साथै किसानहरुमा जागरण पैदा गर्ने, कृषि तथा कृषकमुखी नीति निर्माण तथा बजेटमा सरोकारवाला निकायको ध्यान आकर्षण गराउनु मेलाको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए ।

मदनपोखरा क्षेत्र  आफैमा कृषि उर्वर भूमि भएकाले यसको प्रचार–प्रसार र किसानलाई थप व्यसायिक बन्न उत्प्रेरणा जगाउन  मेला आयोजना गरिएको  मदनपोखरा संगम बहुउद्देशीय सहकारी संस्थाका  अध्यक्ष  घनश्याम घिमिरेले बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले कृषि मेलाले उत्पादनमा वृद्धि, कृषिमा आधुनिकीकरण, कृषकका समस्याहरु समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सहकारीका उपाध्यक्ष सन्तोष अर्यालको स्वागत, सचिव बेदप्रसाद सुवेदीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update