
पाल्पा, फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहलमा पुगेर प्रेमिल जोडीले प्रयण दिवस मनाएका छन् । शुक्रबार केही जोडीले रानीमहल पुगेर प्रेमका चिनारीका रूपमा प्रेम सफलताको कामना, एक आपसमा गुलाफका फूल साटासाट गरी भ्यालेन्टाइन डे मनाएका हुन् । उनीहरूले प्रेम प्रगाढ रहेको विश्वास आफ्ना जीवन साथीलाई गराए ।
अधिकांस प्रेमिल जोडीहरुको रोजाइ रानीमहल पर्ने गरेको छ । अर्घाखाँचीका सुरेन्द्र पाण्डे प्रेमीकासँगै रानीमहल दरबारमा भेटिए । रानीमहलको बारेमा विभिन्न मिडियामा चर्चा हुने गरेको सुनेको थिए आज आफै प्रत्यक्ष रुपमा हेर्ने मौका मिल्यो प्रेमीकासँग रमाइ रहेका पाण्डेले भने ‘प्रेमको प्रतीक रानीमहल आउने धोको पहिलादेखि नै थियो, अहिले प्रेमीकासहित घुम्न आएको, रानीमहल घुम्दा निकै आनन्द आयो ।’ गत असोजमा विवाह बन्धनमा बाँधिएका कपिलवस्तुका नवराज थापा पनि रानीमहल पुग्दा छुट्टै आनन्द मिलेको बताए । उनी श्रीमतीसँगै रानीमहल पुगेर माया साटसाट गरे । ‘म मात्र होइन मेरी श्रीमती पनि औधी खुसी भइन्,’ उनले भने, ‘हामीलाई फेरि–फेरि फुर्सद मिल्नासाथ यहाँ आउन मन लागेको छ ।’ उनीहरु मात्र होइन रानीमहल पुग्ने अधिकासं प्रेमी प्रेमिकाहरु निकै रमाएको देखिन्थ्यो । एक अर्कालाई अङ्गालो मार्दै युवायुवतीले मधुर मुस्कानसहित फोटो खिचेका दृश्यहरु त्यहाँ देख्न सकिन्थ्यो । यहाँ दुई/चार दिन अगाडिदेखि प्रेमिल जोडीहरु रमाएका पाइन्थ्यो । प्रेम दिवसको अवसरमा देशविदेशबाट समेत प्रेमिल जोडीहरु पाल्पाको रानीमहलमा पुग्ने गर्दछन् । कालीगण्डकी नदी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीकका रूपमा अथ्र्याइने गरेका कारण पनि त्यहाँ प्रेमिल जोडीहरु पुग्ने गर्दछन् ।
तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा यहाँ महल बनाएका थिए । प्रेम दिवसको दिन यो महलमा सच्चा जोडीहरू आफ्ना अतीत सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पना गर्ने गर्छन् । यहाँ हरेक वर्ष प्रेम दिवसका दिन युगल जोडी पुगेर एक आपसमा प्रेम साटासाट गर्दछन् । रानीमहल पुगेर प्रेम साटेमा सम्बन्ध दीगो रहने जनविश्वास रहेको छ । रानीमहलमा पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रबाट प्रेमिल जोडीहरु आउने गरेका छन् ।