
गुल्मी, मालिका गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो ।
मालिका–४ अन्तर्गत अर्खावाङ्गमा उक्त प्रशासकीय भवन निर्माण गरिएको छ । विकोइ श्रेष्ठ तथा सुनील समीर जेभीद्वारा २०७८ भदौमा सम्झौता भएको भवन निर्माणको काम तीन वर्षमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए । जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिले उक्त गाउँपालिकामा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरिने भएको छ । भवनको संरचना अपाङ्मैत्री रहेको छ । अपाङ्गता भएका कुनै पनि व्यक्ति सहजै कार्यालयको कोठाकोठामा पुगेर सेवा लिनसक्ने बताइएको छ । बाइस हजार स्क्वायर फिटमा बनेको सो भवन साढे तीन तलाको रहेको छ ।
भवनमा बैठक कक्ष र सभाहलसहित १६ कोठा छन् । गाउँपालिकाको मुख्य केन्द्रमा निर्माण गरिएको उक्त भवन आकर्षक डिजाइनमा निर्माण गरिएको छ । भवनको अभावमा गाउँपालिकाले सम्पूर्ण प्रशासनिक काम एउटा सानो ट्रसबाट गर्दै आएको थियो । सानो ठाउँ र साँघुरा कोठा भएका कारण सेवा लिन आएका नागरिक पनि अलमलमा पर्ने गरेका थिए । अब नयाँ भवन बनेपछि आफूहरुलाई पनि सेवा लिन आउँदा सजिलो हुने स्थानीय राधिका अर्यालले बताए । पालिकाले यति ठूलो भवन बनाएको भन्दै उनले खुसी व्यक्त गरे । नयाँ भवन नर्माण भएसँगै अबदेखि नागरिकलाई सेवा प्रवाह गर्न थप सहज पुग्ने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । भवन निर्माण सम्पन्न भए पनि फर्निसिङ्का काम गर्न केही बाँकी रहेका कारण नयाँ भवनबाट सेवा प्रवाह गर्न केही समय लाग्ने उनले बताए । जिल्लामा एकैदिन बोलपत्र आह्वान गरेका धुर्कोट र मदाने गाउँपालिका प्रशासकीय भवन भने अझै सम्पन्न हुन सकेका छैनन् । एकपटक म्याद थप गरेपछि तोकिएका समयमा काम सम्पन्न गरेर पालिकालाई भवन हस्तान्तरण गरिएको निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले बताए ।