पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रामपुरको ६२ औँ वार्षिक उत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नैतिक शिक्षाको अभावमा पछिल्लो समय हरेक क्षेत्रमा वितृष्णा, निरासा र नकारात्मक पक्ष हावी हुँदै गएको उल्लेख गर्दै व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेकोमा जोड दिए । नगरपालिका भित्रका विद्यालय भौतिक रुपमा सम्पन्न भएको भन्दै सुविधा सम्पन्न भौतिक संरचनाको सदुपयोग गर्दै समाज परिवर्तन र विकास गर्न सक्ने खालको दक्ष जनशक्ति उत्पादनमा जोड दिन नगर प्रमुख थापाले आग्रह । विद्यार्थीहरुको इच्छा र चाहाना अनुसार विद्यालय शिक्षा प्रदान गर्न सके मात्र विद्यालय शिक्षा प्रभावकारी हुने उनले औँल्याए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्मान सांसद युवराज खनालले शैक्षिक गुणस्तर वृद्धिसँगै गुणस्तरीय शिक्षा प्रदान गरेर अझ विद्यालयको महत्व र प्रभाव बढाउन आवश्यक रहेको बताए । रामपुर नगरपालिका –३ का वडा अध्यक्ष दामोदर पाठकले विद्यालयले स्थापनाकालदेखि यस क्षेत्रको शैक्षिक उन्नयनका लागि पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागि सबै एक भएर लाग्नु पर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिका नगर शिक्षा समितिका सदस्य तथा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विभिन्न विद्यालयमा विद्यार्थी संख्या घट्नु चुनौतीको रुपमा रहेको भन्दै जनसंख्या घट्दा यो समस्या आएको उल्लेख गरे । यस्तै विद्यालयका शिक्षक प्रतिनिध कृष्णकला भण्डारीले पेशा र विद्यार्थीहरुको उज्ज्वल भविष्यलाई प्राथमिकता दिएर अध्यापन गर्दै आएको बताइन् । विद्यालय व्यवस्थापन समितका अध्यक्ष उमनाथ अर्यालले विभिन्न समस्या र चुनौतिकाबिच पनि गुणस्तरिय शिक्षा प्रदानका लागि विद्यालय लागि रहेको भन्दै विद्यालयको विकासका लागि सबैको साथ अपरिहार्य रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखापाल सुन्दर विकले २ करोड १० लाख ९७ हजार ९ सय ४९ बराबरको आर्थक प्रतिवेदन प्रस्तुत गरे । विद्यालय व्यवस्थापन समितका अध्यक्ष उमनाथ अर्यालको अध्यक्षता, सहायक प्रधानाध्यापक विजय कुमार अधिकारको स्वागत, शिक्षक ध्रुव पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।