पाल्पा । नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ संक्रमणबाट जिल्लाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको निधन भएको प्रति दुख व्यक्त गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै पूर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको उपचारका क्रममा कोरोनाबाट निधन भएको भन्दै दुःख व्यक्त गरेको हो । पुरुषको जेठ २० गते तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको थियो । उनको मृत्यु कोरोना संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।
उनी पूर्वखोला गाउँपालिका २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि गत सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको जेठ २२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने काँग्रेसको प्रयास रहे पनि पाल्पामा एक पुरुषको मृत्युको खवरले जिल्लाको सिंगो काँग्रेसलाई स्तब्ध बनाएको पार्टी सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बताए । मुलुकमा देखा परेको भयावह र विषम परिस्थितिमा सजक र धैर्य रहन नेपाली काँग्रेस पाल्पाले विज्ञप्तीमार्फत सबै नागरिकलाई आह्वान गरेको छ ।
त्यस्तै काँग्रेसले विज्ञप्तीमार्फत सरकारलाई मापदण्ड अनुरुपको क्वारेन्टाइन निर्माण र आइसोलेशन कक्ष सञ्चालनमा जोड दिई परीक्षणको दायरा बढाउन, जनतालाई स्वास्थ्य रक्षाको अनुभूति हुने गरी काम गर्न ध्यानाकर्षण गराएको छ । ‘कोरानाबाट मृत्यु भएका पुरुषप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवाजनमा समवेदना व्यक्त गर्दछौं’ सभापति रानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । काँग्रेसले सबै कोरोना संक्रमितहरुलाई उच्च मनोवलका साथ रहन आग्रह गर्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।