
पछिल्लो समय नेपाली समाजमा राजनीतिसँगै जल्दो बल्दो चर्चाको विषय बनेको छ धर्म र धार्मिक संस्कार । धर्मकै नाममा राजनीति, धर्मकै नाममा व्यवसाय, धर्मकै नाममा अनैतिक कार्य, धर्मकै नाममा विवाद र बहस यसका केहि पछिल्ला उदाहरण हुन् । धर्म महान हो यसका विकृत र अपाच्य पक्षहरुको बिरोध गर्न नै हुँदैन् । जीवनमा अप्ठयारो आइपर्छ की ? भन्ने मानसिकताले मौनतामा धर्मालम्वीहरु देखिन्छन् । धर्मलाई पाप र पुण्यसँग जोड्ने परम्पराले गर्दा पनि एक चुपचाप मानिसहरु यसलाई स्वीकार गरेको पनि देखिन्छ । धर्मका नाममा अपराधजन्य कार्य गरेर धेरैले आफ्नो स्वार्थ परिपूर्ति गरेको पनि देखिन्छ । बिरोध गर्न नमिल्ने ,आलोचना गर्न नमिल्ने, चुपचाप अपनाउनै पर्ने धर्म र अबलम्वन गरिएका विभिन्न धार्मिक संस्कार, रितीथिती परम्परा अवलम्वन गर्दा उत्पन्न विकृत्ती र यससँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
राज्य व्यवस्था, राज्यका अगं र ऐन नियमको अभावमा मानिसलाई नैतिकवान र कर्तव्यनिष्ठ बनाउन तयार पारिएको स्वतस्फुत विकास गरिएको एक विधिको रुपमा यसलाई लिन सकिन्छ । धर्मको खास अर्थ र परिभाषा यहि भनि आधिकारीक रुपमा भन्न नसकिएता पनि यसले विशेषत जीवन जीउने पद्धती सिकाउँदछ । मानिसलाई सामाजिक र सर्व संचेत प्राणीमा रुपान्तरण गर्न सहयोग पु¥याउँदछ । धर्म विशेष गरेर कर्तव्य, सत्कर्म र लोकको रक्षासँग जोडेर हेर्ने पनि गरिन्छ । धर्म एक काल्पनिक वैदीक सनातन पद्यती हो । यसको सुरुवात कहिले भयो, कसबाट भयो आधिकारीक प्रमाणिक लिपि भेटिदैन् । तर यस माथि विविध तर्कहरु पेस नभएका भने होइनन् । विशेषत यो व्यक्तिगत आख्यान्मा केन्द्रीत रहेको देखिन्छ । यो स्थान ,मानिसहरुको बसोबास समुह,भाषा र जीवनशैली फरक–फरक भएकैबाट फरक–फरक धर्मको विकास र प्रचलन भएको भन्दा दुईमत नरहला । धर्म र धार्मिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा परम्परागत शैली र तरिकालाई त्यागदै देखासिकी र प्रर्दशन प्रभावमा पर्दा यो अलि आलोचनायुक्त र विकृत्त हुँदै गएको देखिन्छ । यसका केहि विकृत र आलोचनायुक्त पक्षहरुमा :
धर्म परिवर्तन र यसको किनबेच : धर्म आदिम समयदेखि चलेको परम्परा हो । यो मानिसले मानिसलाई कर्तव्यनिष्ठ र नैतिकवान बनाउनको लागि तयार गरिएको अलिखित दस्तावेज नै हो । आज भोली धर्म परिवर्तनका नाममा भईरहेको किनबेचले यसलाई विकृत्त बनाउदै लगेको देखिन्छ । के साच्चै धर्मको पनि किनबेच हुन्छ र ? त्यो पनि विकसित र उच्च साक्षर अबस्था भएका देशहरु बाट । यसले सबै धर्मको उद्देश्य एउटै हो प्राप्त गर्ने तरीका मात्रै फरक हो भन्ने भनाईलाई गिज्याईरहेको अनुभुती गराउँदछ । गरिब र सक्षारता न्यून भएका देशहरुबाट भन्दा साक्षर र प्रतिष्ठीत देशहरुबाट विकास र सहयोगका नाममा प्रत्यक्ष र अप्रत्यक्षरुपमा धर्म परिवर्तनका कार्य सञ्चालन भैरहेको देखिन्छ । विशेष गरेर गरिब, विकासोन्मुख, राजनीति अस्थिरता र सरकार अभिभावकविहिन जस्तो भएका देशमा यो कार्यले तिव्रता पाएको देखिन्छ । विशेषतः हिन्दु धर्म माथि यो प्रहार तिव्ररुपमा भएको देखिन्छ । योजना नै बनाएर हाम्रा जस्ता देशहरुमा धर्म परिवर्तनको मन्द युद्ध चलाई रहेको देखिन्छ । यस्ता कार्यले सबै भन्दा सचेत र चेतनशील मानिने मानव जगतलाई नै गिज्याई रहेको देखिन्छ भने यसले धर्मलाई विकृत्त बनाएको छ ।
धर्म भित्र छिरेको व्यापार : पछिल्लो समय धर्म भित्र व्यवसायिकता र व्यापार छिरेको देखिन्छ । धार्मिक क्रियाकलाप आर्थिक र लेनदेनसँग जोडिन थालेको छ । विशेषतः हिन्दु धर्म भित्रका विभिन्न संस्कारहरु मनाउने क्रममा व्यवसायिकता र व्यापारको झल्को देखिन्छ । आवश्यक धार्मिक सामग्रीमा मनोमानी मूल्य निर्धारण, धार्मिक सामग्री बिक्रि पसल पिच्छे फरक–फरक मूल्य निर्धारण, बार्गेनिङ जस्ता विकृत्ती छिरेको देखिन्छ । यसमा राज्यले नियन्त्रण गर्न भने सकेको देखिदैन् । धार्मिक पुराण, भागवत सप्ताह तथा अन्यका नाममा गरिने आर्थिक लेनदेन, दक्षिणाका नाममा गरिने बार्गेनिक, अनावश्यक पुजा सामग्रीको खरीद, धार्मिक कार्यमा विधिको अभाव, विधि पुर्र्याउनुको विकल्पमा धेरै संख्या पुर्र्याउने दौडधुप । धार्मिक क्षेत्रमा लागेका धार्मिक व्यक्तिबाट समाज र व्यवहार परिवर्तन गर्नुको बदलामा गरिने लोभ र लालचले धर्म र धार्मिकतामा विकृत बनाउदै लगेको देखिन्छ ।
धार्मिक प्रवचनकर्ता : पाठ्यक्रम परिवर्तन नहुने स्थायी, सरकारको व्यबस्थापनमा शुन्य हात र अनुगमनको अभाव, धर्मालम्वीले प्रश्न उठाउन नमिल्ने भन्दैमा जो पनि धार्मिक प्रवचनकर्ता बन्ने यज्ञ सञ्चालन गर्दै हिड्ने कुनै अनुमति पनि नचाहिने प्रवृत्तीले धर्म र धार्मिक क्षेत्रलाई आलोचना र यस माथि उत्पन्न आस्था माथि ह्रास आउदै गएको देखिन्छ । अध्ययन होस् या नहोस् , योग्यता होस् या नहोस् दुई चार महिना अभ्यास गरेकै भरमा जो पनि प्रवचन कर्ता बन्ने प्रवृत्ती पछिल्लो समय हिन्दु धर्ममा मौलाउदै गएको देखिन्छ । यसले हिन्दु धर्मलाई नै विकृत बनाउँदै लगेको देखिन्छ । यसमा नियन्त्रण र व्यवस्थापनको खाँचो देखिन्छ ।
खर्चिलो : हिन्दु धर्म र यस अन्तर्गतका संस्कारहरु अवलम्वन गर्ने क्रममा धेरै खर्च गर्नु पर्ने अवस्था उत्पन्न हुँदै गएको देखिन्छ । जन्मदेखि मृत्युपछि सम्मका विभिन्न संस्कार मनाउनु बाध्यात्मक जस्तै भएका छन् । हुने र हुँदा खानेबिच ठूलो खाड्ल नै बढाउदै लैजाने खालको रहेको देखिन्छ । संस्कार अबलम्वन गर्दा धनी र गरीवविच विधि र शैलीमा नै भिन्नता देखिन्छ । जीवन रहँदा गरिने खर्च भन्दा मृत्युपछि गरिने प्रक्रिया झन्झट, लामो समय लाग्ने, खर्चिलो भएकै कारण मानिसहरुमा धर्म परिवर्तनको मोह बढ्दै गएको हो की ? अनुमान लगाउन सकिन्छ । सकि नसकि ऋण खोजेरै गर्नु पर्ने हाम्रा खर्चिला धार्मिक संस्कारहरुले पनि हिन्दु धर्मको आस्था र यसलाई विकृत बनाउँदै लाने पक्ष बनेका छन् ।
धर्म र राजनीति : धर्मलाई विकृत गराउने पक्षको रुपमा यसमा पछिल्लो समय छिरेको राजनीति हो । धर्मलाई राजनीतिसँग जोड्न खोज्दा यसमा विवाद उत्पन्न भएको देखिन्छ । संयौ शताब्दीदेखि मिलेका जनतामा धर्मका नाममा दरार र राजनीति गर्ने नेतृत्वले गर्दा यस माथि वितृष्णा उत्पन्न गराएको देखिन्छ । धार्मिक निरपेक्षताको नाममा धर्ममा विवाद सिर्जना गर्नु यो एक कारण हो । आस्था र एकतामा खलबल ल्याउने र धार्मिक विवाद सिर्जना गरि संर्कीण राजनीतिक स्वार्थ पुरा गर्ने आधार हो । धर्मलाई राजनीति स्वार्थ पुरा गर्ने हतियार बनाउने स्वार्थबाट माथि उठ्न जरुरी देखिन्छ । धर्म निरपेक्षता र हिन्दु राष्ट्रका नाममा धार्मिक विवाद उत्पन्न गराउनु धर्मको आस्था र विश्वासमा कमी ल्याउने नियत रहेको देखिन्छ ।
के गर्ने त ?
– उपयुक्त नीतिको व्यवस्था गर्ने ।
– यसलाई व्यवस्थित बनाउनको लागि छलफल र बहस सञ्चालन गर्ने ।
– जनतालाई सचेत र जागरुक बनाउँने ।
– धार्मिक संस्कार विधिमा एक रुपता अपनाउने ।
– धार्मिक तथा पुजा सामग्रीको मूल्य निर्धारण गर्ने ।
– धार्मिक कार्य सम्पन्न गर्न मितव्ययीता अपनाउँने ।
– धर्म परिवर्तन गराउनेलाई कडा सजायको दायरामा ल्याउने ।
– सरकारको अनुमति विना विभिन्न नाममा धार्मिक कार्य आयोजना गर्न नपाउँने ।
– अभियान्ताको योग्यता अनिवार्य तोक्ने ।
– सरकारी दर्ताको व्यवस्था गर्ने ।
– करको दायरामा ल्याउने ।
– प्रभावकारी अनुगमन र निर्देशनको व्यवस्था गर्ने ।
– धार्मिक सहिष्णुता कायम गर्ने ।
– धार्मिक क्षेत्रहरुलाई व्यवस्थित र पारर्दशी बनाउने ।
निष्कर्ष : धर्म आस्था र जीवन जीउने पद्धती हो । यो विवादीत र आलोचित हुनुहँुदैन् । धर्म र यससँग जोडिएका हाम्रा संयौ संस्कारहरुलाई देखावटी, आडम्बरी र धनी र गरीबबिचको खाड्ल बढाउँदै लाने प्रवृत्तिबाट जोगाई मितव्ययी बनाउदै लानु जरुरी देखिन्छ । धार्मिक संस्कार स्थायी हुनुहुँदैन् । समय अनुशार परिवर्तनशिल र व्यवस्थित बनाउँदै लानु जरुरी देखिन्छ । धर्म माथि पछिल्लो समय विकास हुँदै गएका विकृतिको अन्त्य गरी यसलाई आस्थाको केन्द्र बनाउन जरुरी देखिन्छ । यसलाई विवाद र स्वार्थ भन्दा टाढा राख्नु जरुरी देखिन्छ । यसका लागि राज्यले आवश्यक नीति बनाउन जरुरी देखिन्छ भने आम धर्मालम्वी आ–आफ्नो ठाउँमा लाग्नु पर्ने देखिन्छ । यसो गर्न सकेमा धर्म र धार्मिकता माथि आम जनताको आस्था र विश्वासमा वृद्धि गर्न सकिने थियो की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)