
पाल्पा,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा यही फागुन ७ गते पाल्पा आउने भएका छन् । नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाको आयोजनामा हुन लागेको ‘प्रथम लोकतान्त्रिक महोत्सव’लाई सम्बोधन गर्न महामन्त्री थापा पाल्पा आउन लागेका हुन् ।
काँग्रेसले प्रजातन्त्र दिवसको अवसर पारेर पहिलो पटक लोकतान्त्रिक महोत्सव गर्न लागेको हो । महोत्सव सफल पार्न नेपाली काँग्रेस पाल्पाले तयारीलाई व्यापक बनाउन काँग्रेस पूर्वखोलालाई निर्देशन समेत गरेको छ । उसले जिल्लामा पनि सोही अनुसार तयारीलाई तिव्रता दिएको छ । काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्न संगठनका सम्पूर्ण संरचनालाई निर्देशन गरिसकेको बताए । लोकतन्त्रको संस्थागत विकास ,पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन ‘प्रथम लोकतान्त्रिक महोत्सव’ गर्न लागिएको सभापति श्रेष्ठले बताए । उनले भने,‘पार्टीलाई जनतासँग जोड्ने, काँग्रेस निर्माणका लागि महोत्सव महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।’ सभापति श्रेष्ठले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको रक्षा गर्दै मुलुकमा शान्ति र सुशासन कायम राख्न महोत्सवले वर्तमानको समीक्षा गर्दै भावी कार्यदिशालाई अगाडि बढाइ काँग्रेसको नेतृत्वलाई अझै सबल र सक्षम गराउने बताए ।
महोत्सवलाई व्यवस्थित बनाउन जिल्ला कार्यसमितिको बैंठक समेत बसेको छ । आइतबार पार्टी कार्यलयमा बसेको जिल्ला समितिको बैंठकले समेत महोत्सवलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ्य परीक्षण शिविर, स्थानीय उत्पादनको प्रर्दशनी मेला हुने छ । कार्यक्रम पूर्वखोलाको हाटबजार रिङनेरहमा हुने काँग्रेस पूर्वखोलाले जनाएको छ ।