Shittalpati
हाइड्रोजन भरिएका बेलुनको प्रयोग बन्द गर

पछिल्लो समय मेला, महोत्सव र विभिन्न औपचारिक कार्यक्रमहरुमा हाइड्रोजन भरिएका बेलुनको प्रयोग बढ्दो छ । यसको प्रयोग जोखिमपूर्ण छ भन्ने हेक्का कमैमा छ । जसले गर्दा यसको प्रयोग बढ्दो रहेको हो । हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुने गरेको विज्ञहरुले समेत बताउँदै आएका छन् । हाइड्रोजन हल्का हुने भएकाले बेलुनमाथि उड्छ । यसैले धेरैजसो बेलुन भर्दा हाइड्रोजन प्रयोग हुने गरेको छ । यही हाइड्रोजन ग्यास भरिएका बेलुन पड्कँदा पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको उद्घाटन कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका हुन् । सामान्य तरीकाले भ्रमण वर्ष उद्घाटन गर्न सकिन्थ्यो, तर कार्यक्रम भव्य बनाउने ध्याउन्नमा सामान्य सतर्कता पनि नअपनाउँदा अर्थमन्त्री र मेयर घाइते हुने गरी दुर्घटना हुन पुगे । यो अत्यन्त दु:खको कुरा हो ।

हाइड्रोजनको सबैभन्दा नराम्रो पक्ष प्रज्वलनशील हुनु हो । वायुमण्डलमा भएका अक्सिजनसँग रासायनिक प्रतिक्रिया दिने र पड्किने भएकाले यसको उपयोग गर्दा निकै नै सचेत रहनुपर्ने हुन्छ । पोखरा दुर्घटनामा पनि सम्भवतः भएको त्यही हो । आगोको झिल्काले छोएपछि हाइड्रोजन भरिएको बेलुन पड्किन पुगेको थियो । जसबाट पौडेल र आचार्य आगोले छोएर घाइते हुन पुुगे । दुवैको उपचार भइरहेको छ । उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ । घटना लापरवाही वा अज्ञानता जसरी भएको भए पनि छानबिन हुनै पर्छ । बेलुनमा भर्नै नहुने हाइड्रोजन ग्यास भर्नेलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । यसैले यस दुर्घटनाका सबै पक्षको विस्तृत अध्ययन गरेर आगामी दिनमा यस्तो हेलचेक्य्राइँ हुन नदिन सरकारले नियमन र निगरानीको आवश्यक प्रबन्ध मिलाउन आलटाल गर्नु हुँदैन । कुनै पनि सभा समारोहमा बेलुन राखेर सजाउने, बेलुन फुलाएर उडाउने जस्तो चलनलाई अब निरुत्साहित गरिनुपर्छ । हैन भने यस्तै घटना भोली अर्को सभा समारोहमा समेत नहोला भन्न सकिदैन । तसर्थ हाइड्रोजन भरिएका बेलुनको प्रयोग बन्द गर्ने कार्यमा सरकारले नै प्रतिबन्द लगाउनुपर्छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update